आज काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार काठमाडौं उपत्यकादेखि पूर्वी क्षेत्रमा मौसम आंशिक बदली भएको छ भने पश्चिमी क्षेत्रमा सामान्य बदली छ।
उनका अनुसार आंशिक बदली भनेको कम बादल धेरै घाम लाग्नु हो भने सामान्य बदली भनेको घाम कम बादल बढी लाग्नु हो।
‘मध्याह्नपपछि भने सबैतिर मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने र साँझतिर वर्षा हुने सम्भावना छ,’ मौसमविद् सापकोटाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तर त्यस्तो ठूलो वर्षा हुने सम्भावना देखिएको छैन, बागमती र प्रदेश १ का एक दुई ठाउँमा भारी वर्षा पनि हुन्छ कि।’
मौसमविद्का सापकोटाका अनुसार वर्षा नहुने त होइन तर आज र भोलि अलि कम हुने देखिएको छ।
‘पर्सि (आइतबार) बाट भने फेरि वर्षाको मात्रा बढ्ने सम्भावना छ,’ उनले भने।
तीन/चार दिनयता देशभर अविरल वर्षाका कारण बाढी र पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा ठूलो मात्रामा धनजन क्षति भइसकेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान
असार ४ गते शुक्रबार (आज)
दिउँसो : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असार ५ गते शनिबार
दिउँसो : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असार ६ गते आइतबार
दिउँसो : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा र एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया