ad ad

छापा खबर


पार्टी एकताका लागि लचिलो बन्दै ओली समूह, धर्मसंकटमा माधव नेपाल

पार्टी एकताका लागि लचिलो बन्दै ओली समूह, धर्मसंकटमा माधव नेपाल

नेपालखबर
असार ४, २०७८ शुक्रबार ०:४८,

नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सकारात्मक रहेको संकेत गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले केही समयअघि जेठ ३ अघिको अवस्थामा फर्किन सकिने बताएपछि नेपाल समूहले पनि सकारात्मक रहेको संकेत गरेको खबर आजको हिमालय टाइम्स दैनिकमा चिन्तन क्षेत्रीले लेखेका छन्।

सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्तसहित ओलीले एकताका लागि आह्वान गरेपछि केही झस्किएको नेपाल समूह ओलीले भनेअनुसार अहिले आफ्नो समूहमा जेठ ३ को अभ्यास गरिरहेको छ।

बिहीबार स्थायी कमिटी बैठकले पनि नेपाल समूह एमालेको एकताका लागि जेठ ३ को अवस्थामा फर्किन तयार रहेको संकेत गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा जेठ ३ पछि स्थायी कमिटीमा प्रवेश गरेका नेताहरूसमेत समेटिएपछि नेपाल समूह सकारात्मक रहेको संकेत मिलेको चर्चा हुन थालेको छ । माधव नेपालको एकल हस्ताक्षर रहेको विज्ञप्तिमा जेठ ३ पछि स्थायी कमिटीमा प्रवेश गरेका नेताहरूको पनि नाम छ । तत्कालीन समयमा नेकपा माओवादी केन्द्रसँग एकता हुँदा थप भएका बेदुराम भुसाल, रघुजी पन्त र प्रमेश हमालको नाम स्थायी कमिटी सदस्यमा राखेर विज्ञप्ति जारी भएको हो।

हमाललाई पदेन स्थायी कमिटी सदस्य भनिएको छ । हमालबाहेक दुई जना जेठ ३ पछि मात्रै कमिटीमा आएका हुन्। सो समयमा नयाँ स्थायी कमिटी सदस्य थप्दा ओली पक्षबाट रघुवीर महासेठ र विष्णु रिमाल स्थायी कमिटीमा प्रवेश गरेका थिए। यस्तै, माधव पक्षका बेदुराम भुसाल र रघुजी पन्त थिए।

अहिले स्थायी कमिटी सदस्यकै रूपमा नेताहरू पन्त र भुसाल बैठकमा पनि सहभागी भइरहेका छन्। नेपाल पक्षले यसलाई एकताका लागि ओली तयार भए समाधान गर्न सकिने समस्याका रूपमा व्याख्या गर्दै आएको छ भने, ओली समूह एकतापछिको एमालेमा आउन नेपाल समूह तयार रहेको संकेत मिलेको बताउँदै आएको छ।

नेकपा समूहका एक स्थायी कमिटी सदस्यले ओली एकताका लागि तयार भएमा सबै समस्याहरू समाधान हुने बताउछन्। अहिले समस्या भुसाल र पन्त कमिटी भएको उल्लेख गर्दै ती सदस्यले भने, ‘ओली एकताका लागि नै तयार हुनुहुन्न। समस्या त दुवैतिर छ नि । उहाँ (ओली) जेठ ३ मा फर्किन तयार भए सबै समस्या समाधान हुन्छ।’

नेपाल पक्षका अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि एकताका लागि दुवै पक्षबीच सहमति भएपछि यसले समस्या नहुने बताउछिन्। अहिले भइरहेको अभ्यासलाई व्यवस्थापनका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले ओली र नेपालबीच सहमति जुटेमा माओवादीबाट आएका र अहिले जेठ ३ पछि थपिएको स्थायी कमिटीमा रहेका एमालेका नेताहरूको व्यवस्थापनमा समस्या नहुने बताइन्।

ओली पक्ष भन्छ, ‘नेपाल समूहको उद्देश्य एकता होइन’

एकताका लागि जेठ ३ को रटान लगाइरहेको नेपाल समूहले एकता नचाहेको ओली पक्षको आरोप छ । आफैँ जेठ ३ पछिका संरचनामा काम गर्ने अनि अध्यक्षले सोहीअनुसार एकता कायम राखौँ भन्दा नमान्नु एकता नचाहेको जस्तै भएको ओली पक्षका एक नेताले बताए।

अध्यक्ष ओलीले सबै संरचनाहरूलाई जेठ ३ अघिको अवस्थामा फर्काउन तयार भन्दै एकताको प्रस्ताव गरे पनि नेपाल समूहले अस्वीकार गरेको थियो । तर, अहिले आफ्नो पक्षका स्थायी कमिटीमा सोहीअनुसार काम कारबाही जारी राख्ने र एकताको प्रस्ताव अस्वीकार गर्ने प्रवृत्तिको उद्देश्य एकता नभई अरू नै भएको ती नेताको भनाइ छ।

नेपाल समूहको माग भनेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीहरू सोहीअनुसार भए ग्यारेण्टी भए मात्रै एकता सम्भव हुने बताउँदै आएको छ । अहिले नेपाल समूहलाई ओलीको प्रस्तावअनुसार अगाडि बढ्ने कि गठबन्धनमै रहने भन्ने अन्योल पनि छ। तर, प्रभावशाली केही नेताहरू जसरी पनि एकता गर्नैपर्ने अडानमा रहेका कारण नेपाल स्वयं धर्मसंकटमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .