समाज


कोरोनाकालमा सुरक्षित खानपानका लागि यी हुन् अति आवश्यक ५ टिप्सः डब्ल्यूएचओ

कोरोनाकालमा सुरक्षित खानपानका लागि यी हुन् अति आवश्यक ५ टिप्सः डब्ल्यूएचओ

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १५:५४,

कोरोना महामारीका कारण धेरै कुरा परिवर्तन भएका छन्। कामकाज, सरसफाइदेखि खानपानका तौरतरिकासम्म।

मानिसको प्राथमिकतामा स्वास्थ्य र खासगरी खानपान तथा स्वच्छताको सवाल अचानक सबैभन्दा प्रमुख बनेको छ। यसको अर्थ यसअघि यी कुरामा मानिसको ध्यानै थिएन भन्ने होइन, पक्कै पनि थियो। तर यतिबेला  मानिस खानेकुराबाट पनि कोरोना संक्रमण फैलिन्छ कि भन्ने चिन्तामा छन्। 

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सुरक्षित खानपानका लागि अति आवश्यक ५ टिप्स सार्वजनिक गरेको छ। जुन यसप्रकार छन् :

१. सधैं सफा रहनुस्
–खाना बनाउनुअघि र बनाइसकेपछि हात अनिवार्य धुनुस्

–शौचालय गइसकेपछि साबुनपानीले हात सफा गर्नुस्

–खान बनाउने स्थान, चुलो, भाँडा राम्रोसँग सफा गर्नुस्, सेनिटाइज गर्नुस्

–भान्सा कोठालाई कीरा/फट्यांग्रा तथा जनावरहरूबाट सुरक्षित राख्नुहोस्

यो किन आवश्यक छ?
धेरैजसो सूक्ष्म जीव आफैंले त कुनै रोग फैलाउँदैनन् तर यसमा केही यस्ता खतरनाक जीवाणु हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापक मात्रामा पाइन्छन्। त्यस्ता सूक्ष्म जीव हाम्रा हात, सफाइमा प्रयोग गरिने कपडा, भाँडाकुँडा, कटिङ बोर्ड (तरकारी काट्ने बोर्ड) मा हुन्छन्। यदि खानेकुरामा यी जीवको थोरै मात्र पनि सम्पर्क भयो भने खानपानबाट हुने रोग सर्ने जोखिम हुन्छ।

२. काँचो खानेकुरा पाकेको खानेकुराबाट टाढा राख्नुस्
–पोल्ट्री उत्पादन, काँचो मासु र सामुद्रिक खाना (समुद्रमा पाइने जीवजन्तुको मासु, जस्तै : माछा) लाई अन्य खानेकुराबाट अलग राख्नुस्।

–काँचो खानेकुराका लागि अलग भाँडाकुँडा जस्तो : चक्कु, कटिङ बोर्ड, प्रयोग गर्नुस्। 

–तयारी खाना र काँचो खानाबीच कुनै पनि किसिमको सम्पर्क नहोस् भन्नका लागि खाने पिउने चिज कन्टेरमा राख्नुस्।

यो किन आवश्यक?
काँचो खानेकुरा खासगरी मासु, कुखुरा पोल्ट्री उत्पादन र सामुद्रिक खाना (सिफुड) मा यस्ता खतरनाक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउने क्रममा अन्य खानेकुरामा संक्रमण गर्न पुग्छन्।

३. खानालाई राम्रोसँग पकाउनुस्
–खासगरी मासु, पोल्ट्री उत्पादन, अन्डा र सिफुडलाई राम्रोसँग पकाउन आवश्यक हुन्छ।

–सुप र स्ट्युजस्ता चिजलाई निश्चित समय अर्थात् ७० डिग्री सेल्सियससम्म उमाल्नुपर्छ। मासु तथा पोल्ट्री उत्पादन पकाउँदा रातो नबसोस् भन्नेमा ध्यान दिनुपर्छ। बरु यी चिज पकाउँदा तापक्रम निश्चित गर्न थर्मामिटरको प्रयोग गर्नु बेस हुन्छ।

–पकाइएका खानेकुरा खानुपर्दा पुनः राम्रोसँग तताउनुस्।

यो किन आवश्यक?
खाना राम्रोसँग पकाइयो भने यसमा भएका सबै सूक्ष्मजीव पूरै नष्ट हुन्छन्।
अनुसन्धानबाट के प्रमाणित भएको छ भने ७० डिग्री सेल्सियस तापक्रममा खानेकुरा पकाउँदा खाना सुरक्षित हुन्छ। किमा मासु वा पूरै कुखुरा पकाउँदा विशेष ध्यान दिनुपर्छ।

४. उचित तापक्रममा भोजन सुरक्षित राख्नुस्
–पकाइएका खानेकुरा कोठाको सामान्य तापक्रममा २ घण्टाभन्दा बढी नराख्नुहोस्।

–तयार खानेकुरा खासगरी चाँडै बिग्रिने खानालाई ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा फ्रिजमा राख्नुस्।

–खानेकुरा खानुभन्दा पहिले त्यसलाई ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा तताउनुहोस्।

–फ्रिजमा पनि धेरै लामो समय खाना नराख्नुहोस्।

–फ्रोजन फुड अर्थात् जमेका खानेकुरालाई कोठाको सामान्य तापक्रममा पग्लिन नदिने।

यो किन आवश्यक?
पकाइएका खानेकुरा कोठाको सामान्य तापक्रममा राख्दा सूक्ष्मजीव तीव्र गतिमा विकास हुने सम्भावना हुन्छ। ५ डिग्रीभन्दा कम तथा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्मजीवको वृद्धि कि त बन्द नै हुन्छ, नभए निष्क्रिय बन्छ। तर केही यस्ता खतरनाक सूक्ष्मजीव पनि छन्, जुन ५ डिग्रीभन्दा कम तापक्रममा पनि वृद्धि हुन्छन्।

५. सफा पानी, स्वच्छ भोजन
–स्वच्छ खानेपानीको प्रयोग गर्नुस्। पानी सफा छैन भने त्यसलाई सफा बनाउने उपाय अपनाउनुस्।

–ताजा र पौष्टिक खानेकुराको प्रयोग गर्नुस्।

–यस्ता खानेकुरा छान्नुस्, जुन सुरक्षित रूपमा प्रशोधन गरिएको होस्, जस्तो : पास्चराइज्ड मिल्क।

–फल तथा तरकारीलाई अनिवार्य राम्रोसँग सफा गर्नुस्, जब तपाईं काँचै प्रयोग गर्नुहुन्छ।

–डेट एक्सपायर भएका खानेकुरा कहिले नखानुस्।

यो किन आवश्यक?
पानी र बरफजस्ता चिजमा सूक्ष्मजीव वा कुनै हानिकारक तत्त्व हुन सक्छन्। खराब र बासी खानामा विषालु रसायन पैदा हुने खतरा हुन्छ। खानेकुरा छनोट गर्दा के कुरामा विशेष ध्यान दिनुपर्छ भने जसलाई धोएर, ताछेरजस्ता सामान्य उपायले जोखिम कम गर्न सकियोस्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .