समाज


महोत्तरीमा जग्गा मुद्दामा साक्षी बसेका व्यक्तिको दम्पति नै बेपत्ता, सुतेको ठाउँमा रगत !

महोत्तरीमा जग्गा मुद्दामा साक्षी बसेका व्यक्तिको दम्पति नै बेपत्ता, सुतेको ठाउँमा रगत !

शैलेन्द्र महतो
फागुन ११, २०७७ मंगलबार ४:४५,

महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका व्यक्तिको दम्पति नै अचानक बेपत्ता भएको छ।

जिल्लाको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।

झा दम्पति सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद बनेको छ। दुवै जनाको खोजी तीव्र रूपमा भइरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।

आज (मंगलबार) बिहान अबेरसम्म झा दम्पति नउठेपछि हेर्न जाँदा दुवै ओछ्यानमा नभेटिएपछि र त्यहाँ रगत पनि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले नेपालखबरलाई जानकारी दिए।

स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए। अदालतमा विचाराधीन त्यस क्रममा मुद्दाका विपक्षीसँग उनको विवाद भएको थियो।

झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन्। राति खाना खाएर श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए।

dampatibepatta12

घरमा एक बुहारी र नातिनातिना छन्। बिहानै उठ्दा सासूससुरालाई ओछ्यानमा नदेखेपछि बुहारीले स्थानीयलाई जानकारी गराएकी थिइन्।

‘घटना शंकास्पद देखिएकाले घर घेरा हालेर अनुसन्धान गरिरहेका छौं। घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डग टोली) पनि घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ,’ प्ररही उपरीक्षक केसीले नेपालखबरसँग भने।

झा दम्पति बेपत्ता भएपछि उनीहरू पत्ता लगाउन माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन्।

mahottarisadakabaruddha

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .