नौसेना विभाग
यूएसएस थियोडर रुजबेल्ट
३० मार्च २०
विषयः महामारी रोक्न सहयोगको आग्रह
निश्कर्षः आवश्यक परे यूएसएस थियोडर रुजबेल्ट सबै जहाजीहरुलाई तयार गरेर यात्रामा निस्किन र अमेरिका तथा हाम्रा मित्रशक्तिलाई चुनौती दिने जुनसुकै शक्तिसँग लड्न तथा तिनलाई हराउन तयार छ। निश्चय नै भाइरसले केही असर गर्नेछ। तर, युद्धमा हामी त्यस्ता निश्चित जोखिम मोल्नेछौँ, जुन शान्तिकालमा अस्वीकार्य हुनेछ। तथापि, हामी युद्धमा छैनौँ। त्यसैले यो महामारीका कारण एक जना पनि जहाजीलाई अनावश्यक रुपमा मर्न दिन सक्दैनौँ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र नौसेनाको निर्देशनलाई पालना गर्दै दुःखद् नतिजाबाट बच्न निर्णायक कदम चाल्न आवश्यक छ।
१. समस्याको विवरण: जहाजीहरु युद्धपोतमै रहेका बेला थियोडर रुजबेल्ट सीडीसी र नौसेनाको ०८३/२० मार्गनिर्देशन पालना गर्न असक्षम छ। सीडीसीको मार्गनिर्देशन र जहाजको अवस्था हेर्दा कुनै व्यक्तिको स्वास्थ्य रक्षा गर्ने एक मात्र विधि भनेको १४ दिनभन्दा बढी पूर्ण आइसोलेसनमा बस्नु हो। जसका लागि प्रत्येकलाई बेग्लाबेग्लै कोठा आवश्यक छ। युद्धपोतमा स्थान अभावका कारण हामी त्यसो गरिरहेका छैनौँ। त्यसैले रोग तीव्र गतिमा फैलिइरहेको छ।
२. परीक्षणमा अनुचित जोडः भाइरस फैलिनुमा परीक्षणको कुनै प्रत्यक्ष प्रभाव हुँदैन। यसले मात्र भाइरस छ भन्ने पुष्टि गर्छ। युद्धपोतमा बस्नेसुत्ने ठाउँ एउटै हुन्छ। संक्रमितहरुको अहिलेको संख्याले गर्दा थियोडर रुजबेल्टमा रहेका हरेक जहाजी एकअर्कासँग ‘एकदम नजिक’ छन्। आइसोलेसन वा क्वारन्टिनपछि जहाज काममा फर्किने बेलामा मात्रै परीक्षण उपयोगी हुनेछ। अहिले हाम्रो मुख्य ध्यान आइसोलेसन वा क्वारन्टिन पालनामा हुनुपर्छ।
कोभिड–१९ को परीक्षणले जहाजीहरुमा भाइरस छैन भन्ने पुष्टि गर्न सक्दैन। परीक्षणले भाइरस छ भन्ने मात्रै पुष्टि गर्छ। कोभिड–१९ संक्रमित ३३ जना जहाजीहरुमध्ये २१ प्रतिशत अर्थात् ७ जनाको परीक्षणमा निगेटिभ नतिजा आएको थियो। तर, त्यसको तीन दिनभित्रै उनीहरुमा संक्रमण देखियो।
पहिलो संक्रमित फेला परेपछिको उपलब्ध तथ्यांकका आधारमा भन्दा निगेटिभ नतिजा दिएका २१ प्रतिशत जहाजीहरु अहिले संक्रमित छन्। उनीहरुमा आगामी केही दिनमा संक्रमण विकसति हुनेछ। उनीहरुले अरुलाई पनि संक्रमित गरिरहने छन्।
३. अनुपयुक्त क्वारन्टिन र आइसोलेसनः युद्धपोतमा रहेका केही वरिष्ठ अधिकृतहरुको कोठाबाहेक अरु कसैको पनि बासस्थान क्वारन्टिन वा आइसोलेसनका लागि उपयुक्त छैन। सिफारिस गरिएको विधिअनुसार एकअर्काका नजिक भएका हजारौँ जहाजीहरुलाई क्वारन्टिनमा राख्नु आवश्यक छ। थियोडर रुजबेल्टले आफ्ना जहाजीहरुलाई किनारामा रहेका स्थानमा पनि राख्न थालेको छ। उपलब्ध त्यस्ता स्थानमध्ये क्वारन्टिनका लागि मात्र एउटा ठाउँ उपयुक्त छ। संक्रमित जहाजीहरुलाई ती स्थानमा राख्न थालिएको छ। व्यायम कक्षमा राखिएका दुई जना यसअघि नै संक्रमित भइसकेका छन्। युद्धपोतमा भन्दा यी ठाउँ अलिकति राम्रो भए पनि सामूहिक रुपमा क्वारन्टिनमा राखिनु यो समस्याको समाधान होइन।
भाइरसको विस्तारलाई रोक्न सीडीसी र नौसेना दुवैले व्यक्तिगत क्वारन्टिन गर्नुपर्ने बताएका छन्। उनीहरु दुवैले सामूहिक क्वारन्टिन अनुपयुक्त हुने बताएका छन्। संक्रमित व्यक्तिसँग सम्पर्क नराख्न, एकै ठाउँमा नबस्न, उही चीजबीज प्रयोग नगर्न उनीहरुले सिफारिस गरेका छन्।
थियोडर रुजबेल्टका चालक अहिले जस्तो वातावरणमा बसिरहेका छन्, त्यो वातावरण रोग फैलाउन सहयोगी छ। जहाज र जमिन दुवै स्थानमा उस्तै अवस्था छः
क) साँघुरो ठाउँमा ठूलो संख्यामा जहाजीहरु छन्
ख) खुला र साझा बासस्थान छ
ग) ट्वाइलेट र बाथरुम साझा छ
घ) काम गर्ने ठाउँ साँघुरो र कम्युटर साझा छ
ङ) ठूलो संख्यालाई साझा मेस छ
च) भाइरससँग एक्सपोज भएका व्यक्तिले खाना बाँड्छन्
छ) निरन्तर र निकट सम्पर्क कायम गराउने काम (खाना बनाउने, सरसफाइ, टार्न नसकिने बैठक, इत्यादि)
ज) जहाज वरिपरि भाइरससँग एक्सपोज भएका व्यक्तिसँग निरन्तर निकट सम्पर्क हुनेगरी हिँडडुल गर्नुपर्ने अवस्था (साँघुरो बाटो, एउटै भ¥याङ, रेलिङ, ढोका, इत्यादि)
४. अहिलेको प्रभावहीन रणनीतिः अहिलेको सिमितता (उपयुक्त क्वारन्टिन तथा आइसोलेसनको स्थानको अभाव, सोसल डिस्ट्यान्सिङ लागू गर्न नसक्नु) मा आधारित भएर थियोडर रुजबेल्टले रोगको विस्तारलाई धीमा बनाउन सिमित उपाय अपनाएको छ। हामीले थोरै प्रतिशत जहाजीलाई युद्धपोतबाट बाहिर निकालेका छौँ। बारम्बार जहाजको पूर्ण सफाइ गरिरहेका छौँ र केही सोसल डिस्ट्यान्सिङको प्रयास पनि गरेका छौँ। तर, अहिलेको रणनीतिले भाइरसको विस्तारलाई केही ढिला मात्र गर्नेछ। थियोडर रुजबेल्टको अहिलेको योजना कार्यान्वयनबाट कहिल्यै पनि भाइरस निर्मूल हुन सक्नेछैन।
५. डायमन्ड प्रिन्सेसबाट सिकेको पाठः डायमन्ड प्रिन्सेस जहाजमा भएको संक्रमण (हामीसँग तुलना गर्न मिल्ने एक मात्र परिस्थिति) बारे रोक्लोभलगायतले लेखेको एक शोध लेखको शीर्षक छः ‘डायमन्ड प्रिन्सेस जहाजमा कोभिड–१९ को प्रकोपः महामारीको क्षमता र जनस्वास्थ्यका लागि चालिएको कदमको प्रभावकारिता।’
‘यात्रुवाहक पानीजहाजले ठूलो संख्यामा मानिस बोकेको हुन्छ। जहाँ साँघुरो ठाउँ र मानिसहरुबीच हेलमेल हुन्छ। ३ फेब्रुअरी २०२० मा डायमन्ड प्रिन्सेस यात्रुवाहक पानीजहाजमा कोभिड–१९ को प्रकोप फैलिएको जानकारी दिइयो। जहाँ पहिलो संक्रमितको सूचना जनवरी २१ देखि २५ भित्रमा पत्ता लागेको थियो। फेब्रुअरी ४ सम्ममा बिरामी यात्रुलाई अलग गर्ने र स्वस्थ यात्रुलाई क्वारन्टिनमा राख्नेलगायतका कदम चालिसकिएको थियो। २० फेब्रुअरीसम्मा सो पानीजहाजका ३ हजार ७ सय यात्रुमध्ये ६ सय १९ यात्रु र चालक दलका सदस्यमा कोरोना संक्रमण देखिइसकेको थियो। यदि कुनै कदम नचालिएको भए २१ जनवरीदेखि १९ फेब्रुअरीसम्ममा ३७ सयमध्ये २ हजार ९ सय २० जना संक्रमित भइसक्ने हाम्रो अनुमान छ। तसर्थ आइसोलेसन र क्वारन्टिनले २ हजार ३ सय ७ जनालाई संक्रमित हुनबाट बचायो। फेब्रुअरी ३ मै सबैलाई जहाजबाट निकालिएको भए मात्र ७६ जना संक्रमित हुने थिए।’
शोधलेखको अन्तिम अनुच्छेद यस्तो छः
‘निश्कर्षः यात्रुवाहक जहाजको वातावरणले पहिले नै एकदमै सरुवा रोगलाई अझ फैलायो। कुनै हस्तक्षेप नगरेको अवस्थामा भन्दा रोकथामका उपायले २ हजारभन्दा बढीलाई बिरामी हुन दिएन। तथापि, सबै यात्रु र चालक दलका सदस्यलाई अगाडि नै जहाजबाट निकालिएको भए अझ थुप्रैलाई संक्रमणबाट बचाउन सकिन्थ्यो।’
थियोडर रुजबेल्टभन्दा डायमन्ड प्रिन्सेस आफ्ना यात्रुलाई प्रभावकारी रुपमा आइसोलेट गर्न सक्षम थियो। किनभने सो जहाजमा ग्राहकका लागि व्यक्तिगत आवास र अलगअलग कोठा बनाइएको थियो। तैपनि त्यहाँ सयौँ व्यक्ति संक्रमित हुन पुगे। थियोडर रुजबेल्टले जति राम्रोसँग रोकथाम गरेपनि त्यो डायमन्ड प्रिन्सेसको भन्दा धेरै गुणा नराम्रो हुने सम्भावना छ।
६. प्रस्तावित नयाँ रणनीतिः थियोडर रुजबेल्टले दुई प्रकारको नतिजा हासिल गर्न सक्छः
क) सकेसम्म चाँडो युद्ध लड्नसक्ने क्षमता हासिल गर्नु। यसका लागि कुनै समयतालिका आवश्यक छैन। जति शक्ति उपलब्ध छ, त्यति नै लिएर हामी युद्धमा जान्छौँ। बिरामी अवस्थामै पनि लड्छौँ। त्यसोहुँदा थियोडर रुजबेल्ट कहिल्यै कोभिड–१९ मुक्त हुने छैन। भाइरसले पनि क्षति पु¥याउने छ।
ख) थियोडर रुजबेल्टलाई कोभिड–१९ मुक्त बनाउन सीडीसीको मार्गनिर्देशन कडाइपूर्वक पालना गर्नुपर्ने हुन्छ। त्यसका लागि तत्काल र निर्णायक कदम आवश्यक छ। यसमा समय र पैसा लगानी हुन्छ।
तत्काल युद्ध हुने अवस्था छैन। त्यसैले हामी शान्तिकालीन नतिजाका लागि अघि बढ्न सिफारिस गर्छौँ।
त्यो उद्देश्य प्राप्तिका लागि थियोडर रुजबेल्टले दुई प्राथमिक लक्ष्य हासिल गर्नुपर्ने हुन्छः
क) अनावश्यक मृत्यु हुन नदिने। संक्रमित जहाजीहरुको संख्या घटाउने र भविष्यमा भाइरस फैलिने सम्भावना रोक्ने।
ख) सकेसम्म छिटो युद्ध लड्ने क्षमता पुनप्र्राप्त गर्ने र तयार हुने।
यी लक्ष्य प्राप्तिका लागि संक्रमणरहित युद्धपोत जरुरी छ। जहाजमा रहेका प्रत्येक जहाजी भाइरसमुक्त भएको ग्यारेन्टी हुनुपर्छ। जहाजलाई पनि संक्रमणरहित बनाइनुपर्छ। एक मात्र संक्रमित जहाजी भएपनि उसले जहाजभर भाइरस फैलाउन सक्छ। जहाज र चालक दललाई भाइरसमुक्त बनाउन ४ हजारभन्दा बढी जहाजीका लागि सीडीसी र नौसेनाको सिफारिस बमोजिम जहाजबाहिर बासको व्यवस्था हुनुपर्छ।
७. निश्कर्षः निर्णायक कदम चाल्न आवश्यक छ। अमेरिकाको आणविक शक्तिचालित विमानवाहक जहाजमा तैनाथ बहुसंख्यक जवानलाई हटाउने र तिनलाई दुई सातासम्म आइसोलेसनमा राख्ने उपाय असाधारण लाग्न सक्छ। रियाक्टर प्लान्टलाई चलाउन, जहाजलाई संक्रमणरहित बनाउन, सुरक्षाको सुनिश्चिता गर्न र आपतकालीन अवस्थाका लागि चालकदलको एउटा हिस्सा (करिब १० प्रतिशत) जहाजमै रहन सक्छ। यो जोखिम मोल्नु आवश्यक छ। यसले जहाज र हवाई टुकडीलाई चाँडोभन्दा चाँडो स्वभाविक अवस्थामा पु¥याउने छ। साथै, हाम्रा जहाजीहरुको स्वास्थ्य र सुरक्षाको सुनिश्चितता पनि गर्नेछ। ४ हजारभन्दा बढी युवा पुरुष तथा महिलालाई जहाजमै राखिराख्नु अनावश्यक जोखिम मोल्नु मात्र हो। यसले हामी जहाजीहरुको ख्याल राख्छौँ भन्ने उनीहरुको विश्वासलाई तोड्छ।
हाम्रा चालक दलका सबैलाई व्यक्तिगत बासको व्यवस्था गर्नु चुनौतीपूर्ण छ। यसका लागि राजनीतिक समाधान आवश्यक पर्नेछ। तर, यो सही कदम हो। हामी युद्धमा छैनौँ। जहाजीहरु मर्न आवश्यक छैन। यदि हामीले अहिले नै कदम चालेनौँ भने हाम्रो सबैभन्दा विश्वासिलो शक्ति जहाजीहरुको उचित ख्याल राख्न हामी असफल हुनेछौँ।
सबै चालक दलका सदस्यका लागि सकेसम्म चाँडो सीडीसी र नौसेनाको सिफारिसअनुसारको क्वारन्टिन स्थान उपलब्ध गराउन सबै स्रोत परिचालन गर्न मेरो आग्रह छ।
(सन फ्रान्सिस्को क्रोनिकलबाट। कोरोना भाइरसबाट जहाजीहरुलाई बचाउन गुहार माग्दै अमेरिकी विमानवाहक जहाजका कप्तान बी.ई. क्रोजियरले नौसेनालाई पठाएको पत्र। यस्तो पत्र लेख्ने खराब निर्णय लिएको भन्दै उनलाई शुक्रबार जिम्मेवारीबाट हटाइएको छ। हाल गुआममा रहेको सो विमानवाहक जहाजका ४ हजार जहाजीमध्ये बिहीबारसम्म १ सय १४ मा कोरोना संक्रमण देखिएको छ।)
प्रतिक्रिया