धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर क्षेत्रमा करीब ५३ वर्षदेखि अतिक्रमण गरिएको सार्वजनिक जग्गामा बनेका संरचनामा पनि डोजर चलाइएको छ।
संघीय सरकारको निर्देशनपछि मिथिला नगरपालिकाले प्रहरीको सहयोगमा डोजर लगाएर जग्गा खाली गराइएको हो।
नगरपालिकाले शनिबार सो क्षेत्रमा निर्माण गरिएका पक्की भवन, घरटहरा तथा पसलहरू भत्काएर हटाएको छ। काठमाडौँको अतिक्रमित क्षेत्रमा डोजर चलेकै दिन ढल्केवरमा पनि ५३ वर्षदेखिको अतिक्रमित सरकारी जग्गा खाली गरिएको हो।
सडक क्षेत्रमा संरचना बनाएर करिब २५ देखि ३० जनाले लामो समयदेखि बसोवास तथा व्यवसाय सञ्चालन गर्दै बस्दै आएका थिए।
सार्वजनिक जग्गाको अतिक्रमण अटाउन संघीय सरकारले स्थानीय तहहरुलाई गरेको निर्देशन बमोजिम केही दिनअघि नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न भनी सूचना जारी गरेको थियो। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ती संरचना हटाएसँगै सो सडक पुनः खुला गरिने नगरपालिकाले जनाएको छ।
स्थानीयका अनुसार वि.सं २०२६ सालमा पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा उक्त सडकको उपयोग गरिएको थियो।
तर विसं २०३० सालतिर सो स्थानबाट दक्षिणतर्फ नयाँ सडक खुलेपछि पुरानो मार्गबाट आवतजावत बन्द भएको थियो। त्यसपछि केही स्थानीयले क्रमशः सो सडक क्षेत्रमा घरटहरा निर्माण गरी बसोवास र व्यवसाय सञ्चालन गर्दै आएका थिए।
यसअघि कर्यौ पटक अतिक्रमण हटाउने प्रयास गरेपनि राजनीतिक दबावका कारण सफल हुन सकेको थिएन।
नगर प्रमुख महेन्द्र महतोका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन पटक सार्वजनिक सूचना जारी गरिए पनि मुद्दा मामिला र राजनीतिक दबाव सहितका विभिन्न अवरोधका कारण कार्यान्वयन हुन सकेको थिएन।
हाल संघ तथा प्रदेश सरकारबाट सार्वजनिक सडक र जग्गा अतिक्रमण हटाउन कडाइका साथ निर्देशन जारी भएपछि सोही अनुसार नगरपालिकाले कदम अघि बढाएको हो।
सडकको मापदण्ड कायम गरी आवागमनलाई सहज बनाइने नगर प्रमुख महतोले बताए।
Shares

प्रतिक्रिया