समाज


हरिवन नगरपालिका स्वास्थ्य सेवातर्फ मधेसमै अब्बल

हरिवन नगरपालिका स्वास्थ्य सेवातर्फ मधेसमै अब्बल

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार १४:१२, सर्लाही

सर्लाहीको हरिवन नगरपालिका स्वास्थ्यतर्फ मधेस प्रदेशकै अब्बल पालिका घोषित भएको छ। मधेसका एकसय ३६ वटा पालिकामध्ये स्वास्थ्य क्षेत्रमा सम्पादित कामको मूल्यांकनका आधारमा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले हरिवन नगरपालिकालाई सबैभन्दा उत्कृष्ठ पालिका घोषित गरेको हो। 

गत वर्ष पनि हरिवन नगरपालिका स्वास्थ्यतर्फ मधेसमै अब्बल (पहिलो) घोषित भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सेवातर्फ सम्पादन भएका कामका आधारमा प्रदेश निर्देशनालयले हरिवनलाई पहिलो पालिका घोषणा गरेको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले जानकारी दिए। 

स्वास्थ्य तर्फका विभिन्न सूचकांकमा मधेशका एकसय ३६ पालिकामध्ये हरिवनले सतप्रतिशत नजिता प्राप्त गरेर पहिलो स्थान हाँसिल गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए। 

त्यसैगरी ९० दशमलव ०९ नम्बर ल्याएर सप्तरीको हनुमाननगर कंकाल्नी नगरपालिका दोस्रो र ८९ दशमलव ४१ अंक ल्याएर पर्साको ठोरी गाउँपालिका तेस्रो भएका छन्। सर्लाहीकै लालबन्दी नगरपालिकाले प्रदेशमा चौथो स्थान हाँसिल गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालयतर्फ पर्सा पहिलो भएको छ। पर्सा ८१ दशमलव ९ अंक ल्याएर पहिलो भएको हो भने ७७.७ अंक ल्याएर स्वास्थ्य कार्यालय सर्लाही दोस्रो भएको छ। त्यसैगरी ७५ दशमलव ५ अंकसहित जिल्ला स्वास्थ्य कार्यालय सिराहा तेस्रो भएको छ। 

आइतबार प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरमा आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्षेत्रमा अब्बल ढंगले काम गर्ने हरिवन नगरपालिकालाई चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरिने घोषणा गरे। 

त्यसैगरी दोस्रो हुने पालिकालाई ३५ र तेस्रो हुने पालिकालाई १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरिने उनले बताए। 

कार्यक्रममा मधेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले हरिवनका नगरप्रमुख बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख चौधरीलगायत स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सम्मान-पत्र प्रदान गरेका थिए।

पालिकाहरुले सञ्चालन गर्ने खोप कार्यक्रम, पालिका भित्रका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा, स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर, बालबालिकाहरुको स्वास्थ्य अवस्था, क्षयरोग तथा एजआइभी सङ्क्रमित बिरामीको उपचारमा गरेको प्रगति जस्ता सूचकको आधारमा पालिकाहरुको मूल्यांकन गरिएको थियो। 

यसअघि सर्लाहीका २० वटा पालिकाको समीक्षामा पनि हरिवन प्रथम भएको थियो। ‘स्वास्थ्य तर्फ भएको कामको आधारमा हाम्रो पालिका दोस्रो वर्ष पनि प्रदेशमै पहिलो हुनु हाम्रो लागि गौरवको विषय हो,’ मेयर बुढाथोकले भने, ‘यसले देशभर नै सकारात्म सन्देश गएको छ। यसको श्रेय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सबै कर्मचारी र जनप्रतिनिधिलाई जान्छ।’

हरिवन नगरपलिकामा नगर अस्पतालसहित चारवटा स्वास्थ्य चौकी, सातवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।  

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा नियमित स्वास्थ्य सेवाका अतिरिक्त सबै शिक्षण संस्थामा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, आलस, कोदो, फापर, गहत जस्ता रैथानी बाली उत्पादन गर्ने किसानलाई अनुदान दिने, मृतकलाई घाटसम्म लैजान निःशुल्क शवबहानको व्यवस्था गर्नेसहितका निर्णय पनि गरेको छ। 

हाल हरिवन नगरपालिकाले प्रेसर, सुगर र थाइराइटको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। नगर अस्पतालसहित पालिकाका दुईवटा स्वास्थ्य संस्थामा ल्याब, एक्स रे सेवा पनि सञ्चालनमा छन्।

हरिवन- ४ सासापुरमा रहेको नगर अस्पतालमा गतवर्ष एकलाख २७ हजार चार सय ६८ जनाले स्वास्थ्य सेवा लिएका चौधरीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad