ad ad

समाज


बागमतीको ‘भरत ताल’ : अब दुवै तालमा चल्नेछन् मोटरबोट

बागमतीको ‘भरत ताल’ : अब दुवै तालमा चल्नेछन् मोटरबोट

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १२:२१, सर्लाही

सर्लाहीको बागमती नगरपालिकाले निर्माण गरेका दुवै ताल सञ्चालन हुने भएका छन्।  

‘भरत ताल’ नामलेसमेत चर्चित बागमती नगरपालिका–१२ बुढीबागमती किनारका दुवै ताल सञ्चालनको तयारी गरिएको बागमती नगरपालिकाले जनाएको छ। 

भरत ताल मोटरबोट व्यवसायी संघका अध्यक्ष गौतम खड्काका अनुसार आज बिहानबाट दुवै तालमा पानी हाल्न थालिएको छ। 

‘सञ्चालनमा रहेको माथिल्लो तालको पानीसमेत सुकाएर तालको सफाइ गरेगछि आजबाट दुवै तालमा पानी हाल्न थालिएको छ,’ खड्काले भने, ‘अबको एक सातापछि दुवै ताल सञ्चालनमा आउने अपेक्षा हामीले गरेका छौँ।’

उनले सञ्चालनमा रहेको एउटा ताल सफाइको लागि पानी सुकाइएको बताए। पानी सुकाइएको कारण अहिले तालमा मोटरबोट सञ्चानल बन्द गरिएको छ।  

पछिल्लो समय सर्लाहीको ‘भरत ताल’ मधेश प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ। 

बागमती नगरपालिकाले निर्माण गरेको यो ताल १२१ बिघा क्षेत्रमा फैलिएको छ। 

सुरुमा यहाँ नगरपालिकाले आगन्तुकका लागि डुंगा सयरको मात्रै व्यवस्था गरेको थियो। पछिल्लो सयम भने यहाँ डुंगासँगै स्काई साइकल (तारमा हिँड्ने), वाटर साइकल, फनपार्क, मोनोरेल, घोडचढीसहित मनोरञ्जनका फरक फरक माध्यमको व्यवस्था गरिएको छ। 

चाडपर्वको बेला यहाँ दैनिक एक लाखसम्म आन्तरिक पर्यटक आउने गरेका छन्। अरु दिन दैनिक ३–४ हजार पर्यटक यहाँ आउँछन्।

तालको अवलोकन र बोटिङ गर्न टाढाटाढाबाटसमेत सर्वसाधारणदेखि भीआईपीसम्म आउने गरेका छन्। ताल अवलोकनको लागि आउनेहरु ढुंगा, घोडचढी, स्काइ साइकिलिङमा रमाइरहेका भेटिन्छन्। 

मेयर भरत थापाको परिकल्पनामा निर्माण भएको कारण यो ताललाई सर्वसाधारणले ‘भरत ताल’ भन्ने गरेका छन्। भरत तालकै नामबाट यो ताल प्रख्यात भइसकेको छ। तर, बागमती नगरपालिकाले भने आफ्नो औपचारिक लिखतमा यसको नाम ‘बागमती माछापोखरी’ राखेको छ।

तर, अहिले बागमती नगरपालिकाका प्रमुख भरत थापा भने भ्रष्टाचार मुद्दामा निलम्बित छन्। 

बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायत नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोप उनीमाथि छ। 

तालमा अहिले चार दर्जन वटा डुंगा सञ्चालनमा छन्। डुंगा चढेको शुल्क प्रतिव्यक्ति ३ सयदेखि हजार रुपैयाँसम्म लाग्छ। डुंगाको सुविधा र स्तरअनुसार व्यवसायीले शुल्क निर्धारण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .