समाज


मिथिलाञ्चलमा १३ दिनसम्म मनाइने मधुश्रावणी पर्व सुरु

मिथिलाञ्चलमा १३ दिनसम्म मनाइने मधुश्रावणी पर्व सुरु

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८१ शुक्रबार ११:१८, महाेत्तरी

कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ। 

श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दछन्।

यो पर्वमा बर्तालु र उनका सखी  सुन्दर वस्त्रमा सजिएर सामूहिक प्रणयगान र ‘पूmललोढी’ (फूल खोज्ने) विधि खास मानिन्छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘फूललोढी’मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ। 

पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामुहिक रूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भनिन्छ। यो पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ।

पर्वको प्रारम्भ आत्मशुद्धि र व्रत सङ्कल्पबाट हुन्छ। बर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइधुवाइ गरेर शुद्ध हुन्छन्। पर्वभर चोखो भोजन गरिन्छ। घरकी जेष्ठ महिला सदस्यले बर्तालुलाई पर्वका विधि सिकाउने गर्छन्। सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको  वस्त्र र खाद्यान्न भने पतिले नै पुर्‍याई दिनपर्ने चलन छ।  

पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरू एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन्। सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिड्ने जोसुकैको मन खिच्ने गर्छ। यो नै पर्वको मुख्य आकर्षण हो। 

‘नवविवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाले ‘फूललोढी’ मा निस्केका मिथिलानीका रागात्मक भावका गीतले सबैलाई रोमाञ्चित गराउँछ,’  मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झाले भने। 

विगतमा मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब सबै जातजातिको साझा भएको छ। पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको मिथिलानी बताउँछन्।

शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन्। यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad