ad ad

समाज


बलात्कार मुद्दा ‘मिलाउने’ सर्तमा पीडकले देखाए ४० लाखको प्रलोभन

आरोपी डेढ वर्षदेखि फरार
बलात्कार मुद्दा ‘मिलाउने’ सर्तमा पीडकले देखाए ४० लाखको प्रलोभन

आराेपी नारायण गाैतम/फाइल तस्बिर


नेपालखबर
साउन २, २०८१ बुधबार १२:५, सर्लाही

डेढ वर्षअघि सर्लाहीको हरिवनमा भएको एउटा बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिन पीडक पक्षबाट मोटो रकमको प्रलोभन आउन थालेको दाबी पीडित पक्षले गरेका छन्। 

२५ फागुन २०७९ मा हरिवन नगरपालिका- ९ दनुवारीकी ११ वर्षीया एक बालिकालाई स्थानीय ५५ वर्षीय नारायण गौतमले बलात्कार गरेको आरोप छ। 

घटना सार्वजनिक भएलगत्तै फरार रहेका गौतम भने अझै पक्राउ परेका छैनन्। घटना भएको लामो समय बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै पीडित पक्षले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। प्रहरीले भने घटनालगत्तै फरार भएका गौतमलाई अझै फेला पार्न नसकिएको दाबी गर्दै आएको छ। 

आरोपीलाई तुरुन्त पक्राउ गर्न माग गर्दै स्थानीयले त्यतिबेलै हरिवन- ९ नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा टायर बालेर केही दिन यातायातसमेत अवरुद्ध गरेका थिए। राजनीतिक शक्तिको आडमा गौतमलाई पक्राउ नगर्दा पीडकले भाग्न पाएको दाबी पीडित पक्ष र स्थानीयले गर्दै आएका छन्। 
 
अहिले पीडक पक्षबाट बलात्कार मुद्दालाई फितलो बनाउने शर्तमा मोटो रकमको प्रलोभन आउन थालेको दाबी पीडित पक्षकाे छ। 

‘मुद्दालाई फितलो बनाउने शर्तमा पीडक पक्षबाट बालिकाको अभिभावकलाई ३५ देखि ४० लाख रुपैयाँसम्मको प्रलोभन आउन थालेको छ,’ पीडित परिवार निकट एक व्यक्त्तिले भने, ‘लामो समयसम्म आरोपी पक्राउ नपर्ने र पीडित परिवारलाई पीडक पक्षबाट आर्थिक प्रलोभनसहित विभिन्न धम्की र दवाव आइरहेका छन्।’

उनले पहिला पीडितलाई २० लाखसम्म दिने प्रलोभन आएको दाबी गर्दै अहिले त्योभन्दा दोब्बर बढी रकमको प्रलोभन आउन थालेको बताए। ‘यो केसलाई डिसमिस गर्न ठूलै पार्टीका केही नेता लागेका छन्,’ उनले भने, ‘आन्तरिक रुपमा नमिल्ने हो भने यो केस त्यसै फितलो हुँदैजान्छ, त्यतिबेला तिमीहरुले न पैसा पाउँछौ, न न्याय भन्दै डर देखाउन थालिएको छ।’

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले भने आरोपीलाई पक्राउ गर्न प्रहरीले कुनै कसर बाँकी नराखेको दाबी गरे। 

‘हामी अहिले पनि आरोपी गौतमको खोजीमै छौँ,’ उनले नेपालखबरसँग भने, ‘टेक्निकल्ली ढंगले डाटाहरु लिएर पनि उनको खोजी गरिरहेका छौँ। दोषीलाई जोगाउने काम हामीबाट हुँदैन।’ 

उनले आर्थिक प्रलोभनको प्रस्ताव कसले गरेको हो, पीडित पक्ष प्रमाणसहित आए त्यसलाई कारबाही गरिने बताए। गौतमविरुद्ध घटनाको चार दिनपछि (२०७९ फागुन २९ गते) प्रहरीमा जाहेरी दर्ता भएको थियो। अदालतले गौतमलाई त्यतिबेलै पक्राउ अनुमतिसमेत दिएको इन्सपेक्टर गिरीको भनाई छ। 

घटना लगत्तै गरिएको बालिकाको मेडिकल रिपोर्टले पनि उनीमाथि बलात्कार भएको देखाएको थियो। 

त्यतिबेला घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेपछि सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतले घटनास्थलमा पुगेर आरोपीलाई तुरुन्तै पक्राउ गर्ने प्रतिवद्धता जनाएका थिए। 

इलाका प्रहरी कार्यालय हरिवनका तत्कालिन इन्सपेक्टर शिवराम थापाले पनि आरोपीलाई पक्राउ गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएपछि पीडितले त्यतिबेला सडक आन्दोलन छाडेका थिए। 

तर, लामो समयसम्म पनि आरोपी पक्राउ नपर्दा पीडित परिवारमा निरासा छाएको छ। आरोपी राजनीतिक पहुँचको व्यक्ति भएकाले प्रहरीले उनलाई पक्राउको लागि चासो नदिएको गुनासो पीडित पक्षले गर्दै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .