ad ad

समाज


आज राति ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज राति ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

अविरल वर्षाका कारण विराटनगर महानगरपालिका-१२, बखरीमा बुधबार डुबानमा परेका घर। तस्बिर : मनोज दाहाल/रासस


नेपालखबर
असार १२, २०८१ बुधबार १९:१६, काठमाडौँ

हाल (बुधबार बेलुका) मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली छ।

बागमती र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। 

यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै आज राति कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा मुनि वर्षा भयो भने त्यसलाई भारी वर्षा भनिन्छ।

बुधबार वर्षाका कारण महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सडकमा जमेको पानीको पर्वाह नगरी विद्यालय जाँदै विद्यार्थी। तस्बिरः सञ्जित/रासस

यसैबीच आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना ६० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार साँझ ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी र कर्णाली  प्रदेशका केही स्थान साथै मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .