ad ad

समाज


३ जनाको ज्यान लिनेगरी बारामा विस्फोट भएको त्यो १५ किलो पदार्थ के थियो?

परीक्षण गर्न काठमाडौँ ल्याइँदै
३ जनाको ज्यान लिनेगरी बारामा विस्फोट भएको त्यो १५ किलो पदार्थ के थियो?

घटनास्थल


नेपालखबर
फागुन १५, २०८० मंगलबार १३:४४, काठमाडौँ

बाराको निजगढ नगरपालिका-७ (निजगढ बजार) मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कसप (लेथ) मा सोमबार दिउँसो ठूलो विस्फोट भयो। विस्फोटमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३ जना घाइते छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

सुरुमा प्रहरीले वर्कसपमा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरेको थियो। 

तर, अनुसन्धानका क्रममा त्यहाँ सिलिन्डर विस्फोट नभएको पाइएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। 

‘हामीले पनि सुरुमा लेथ मेसिन सञ्चालन गर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरेका थियौँ,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘तर, अहिले बुझ्दा त्यहाँ विस्फोट भएको पदार्थ के थियो, ठ्याक्कै हामी पनि भन्न सक्ने अवस्थामा छैनौँ।’

वर्कसपका सञ्चालक नै विस्फोटमा मरेकाले उक्त घटना अनुसन्धानमै समस्या सिर्जना भएको उनले बताए। 

‘बम जस्ताे देखिने त्यो विस्फोट पदार्थ १५ किलोभन्दा धेरै भएको अनुमान छ। त्यो पदार्थ कबाडीलाई बेच्ने व्यक्तिलाई हामीले पक्राउ गरेका छौँ,’ उनले भने, ‘त्यो बम हो होइन, अथवा के पदार्थ थियो,’ खुलेको छैन। हामीले विस्फोटक पदार्थको टुक्रा संकलन गरेका छौँ। त्यसलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा पठाउने तयारी हुँदैछ।’

नाम नखुलेको झण्डै १५ किलो तौलको त्यो पदार्थलाई लेथमा राखेर काट्ने क्रममा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

‘कबाडी सञ्चालक (भारतीय नागरिक) रमेश जैसवाल ले त्यसभित्र निकै तामा छ भन्ने लोभमा परेर किनेका रहेछन्,’ एसपी काफ्लेले भने, ‘लेथमा लगेर त्यसलाई काटेर हेर्ने क्रममा विस्फोट भएको हो।’

त्यसलाई काट्दै गरेका वर्कसप सञ्चालक (निजगढकै ४५ वर्षीय रेशम मगर)को विस्फोटमा परेर तत्कालै मृत्यु भएको थियो भने भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका २० वर्षीय रितु रजतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त सामान किन्ने भारतको मोतिहारी घर भएका ४० वर्षीय जैसवाललाई प्रहरीले पक्राउ गरिसकेको छ। जैसवालाई त्यो शंकास्पद वस्तु बेच्ने निजगढकै २९ वर्षीय टीकाराम पाख्रिन पनि पक्राउ परेका छन्। 

जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्। विस्फोटपछि एम्बुलेन्स चढेर श्रीमती सुशीलादेवी र छाेराछाेरीसहित  भारततिर भाग्दै गरेका जैसवाललाई प्रहरीले सोमबार साँझ बारा सदरमुकामबाट पक्राउ गरेको हो।

निजगढ नगरपालिका ९ का पाख्रिनले त्यो पदार्थ कहाँ फेला पारेर जैसवालाई बेचे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

‘त्यो विस्फोटक पदार्थ बेच्ने र किन्ने दुबैलाई हामीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ एसपी काफ्लेले भने, ‘तर, अहिलेसम्म उनीहरुले त्यो पदार्थ के थियो, प्रस्ट भनेका छैनन्। बेच्ने र किन्नेले त्यो निकै भारी थियो मात्रै भनेका छन्।’

त्यो पदार्थ बम हो कि होइन?

यो प्रश्नमा एसपी काफ्लेले भने, ‘बम त्यति ठूलो त नहुनुपर्ने हो। त्यो के थियो, अब अनुसन्धान पछि नै खुल्ला। अहिले केही भन्न सकिन्न।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .