ad ad

समाज


बारा विस्फोट : एम्बुलेन्स चढेर भारततिर भाग्दै गरेका कबाडी सञ्चालक कलैयाबाट पक्राउ

बारा विस्फोट : एम्बुलेन्स चढेर भारततिर भाग्दै गरेका कबाडी सञ्चालक कलैयाबाट पक्राउ

नेपालखबर
फागुन १५, २०८० मंगलबार ११:४९, काठमाडौँ


बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा ३ जनाको मृत्यु भएको घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए। 

‘पक्राउ पर्नेमा निजगढ नगरपालिका- ९ का २९ वर्षीय टीकाराम पाख्रिन र भारतको मोतिहारी घर भएका ४० वर्षीय रमेश जैसवाल छन्,’ एसपी काफ्लेले नेपालखबरसँग भने, ‘विस्फोटमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। एक घाइतेको अवस्था गम्भीर छ।’

पक्राउ पर्ने पाख्रिन कबाडी सामान बेच्ने व्यक्ति हुन्। उनी निजगढ निवासी हुन्। जैसवाल कबाडी सामान किन्ने व्यवसायी भएका प्रहरीले जनाएको छ। जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्। 

विस्फोटमा ठूलो मानवीय क्षति भएपछि जैसवाल कबाडी गोदामबाट एम्बुलेन्स चढेर भारतीर भाग्दै गरेको अवस्थामा पक्राउ परेका एसपी काफ्लेले बताए। 

‘विस्फोटपछि उनी पत्नी र छोराछोरीसहित एम्बुलेन्स चढेर भारततिर भाग्दै थिए,’ एसपी काफ्लेले भने, ‘हामीले अनुसन्धानको लागि उनलाई हिजै साँझ कलैयाबाट पक्राउ गरेर हिरासतमा राखेका छौँ।’

विस्फोट भएको वस्तु के हो अझै खुल्न बाँकी रहेको उनले बताए। 

विस्फोटमा परेर वर्कशप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका रितु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मगरको सोमबार दिउँसो र जैसवालको गएराति र रजतको केहीबेर अघि मृत्यु भएको हो। 

विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो।  

निजगढ नगरपालिका- ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु काट्ने क्रममा विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी वर्कशप सञ्चालक मगरको त्यतिबेलै मृत्यु भएको थियो। 

विस्फोटमा परेर निजगढ नगरपालिका- ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका- ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन्। त्यसमध्ये गम्भीर घाइते अरविनको बयोधाकै आईसीयूमा राखेर उपचार भइरहेको छ।  

बाँकी दुई घाइतेमध्ये देवानको बयोधामा र थापाको निजगढमै रअहेको सामुदायिक प्रसूतिगृह अस्पतालमा उपचार भइरहेको एसपी काफ्लेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .