समाज


चिहानबाट १७ वर्षीया किशोरीको शव निकालेर अभियुक्त पक्राउ गर्ने इन्सपेक्टरलाई सर्लाहीमा सम्मान

चिहानबाट १७ वर्षीया किशोरीको शव निकालेर अभियुक्त पक्राउ गर्ने इन्सपेक्टरलाई सर्लाहीमा सम्मान

नेपालखबर
पुस १०, २०८० मंगलबार १४:२५, सर्लाही

सर्लाहीको हरिवनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलराज गिरी जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।

हरिवनमा भएको एउटा अपराधको सफल अनुसन्धान गरेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गएको मंसिर महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको हो।

जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजिक एक कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले इन्सपेक्टर गिरीलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेका छन्। 

हरिवन नगरपालिका- ११ बालगंगाकी १७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा गिरीले सफल अनुसन्धान गरेर अभियुक्तलाई कानुनको कठघरामा ल्याएका थिए। उक्त अपराधको सफल अनुसन्धान गरेको कारण उनलाई पुरस्कृत गरिएको एसपी धितालले जानकारी दिए। 

बालगंगा निवासी शेष ईर्सादकी छोरी १७ वर्षीया खातुनको केही समयअघि हत्यापछि गुपचुप रुपमा परिवारका सदस्यले शव घर नजिकैको चिहानमा लगेर गाडेका थिए।

प्रहरी अनुसन्धानको क्रममा खातुनको हत्यामा उनकी आमा सकिना खातुन र शेष चाँद भनिने शेख मिर हमजाको संलग्नता खुलेको छ। 

उनीहरु दुबै यतिबेला पुर्पक्षको लागि कारागारमा छन्। 

‘१७ वर्षीया तबसुन खातुनको शंकास्पद मृत्युमा चिहानमा गाडेको शव उत्खनन गरी घटनाको गहन अनुसन्धानपछि आमा सकिना खातुनलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सफल भई उत्कृष्ट अनुसन्धान गरेको, सो वारदातमा संलग्न फरार प्रतिवादी हमजाले झुठा विवरणको आधारमा नागरिकता र राहदानीसमेत लिएको देखिएको घटनाकोसमेत सफल अनुसन्धान गरी संगठनको छविलाई उच्च राख्न प्रशंसनीय काम गरेको हुँदा उक्त कार्यको मूल्यांकन गर्दै प्रहरी निरीक्षक गिरीलाई ‘पुलिस अफ दि मन्थ’ घोषित गरिएको छ,’ एसपी धितालले इन्सपेक्टर गिरीलाई प्रदान गरेको प्रशंसा पत्रमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .