ad ad

समाज


कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव

कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव

नेपालखबर
चैत १५, २०८० बिहिबार ८:५७, काठमाडौँ

मंगलबार पाल्पाको रिब्दीकोटमा हत्या गरेको अवस्थामा फेला परेकी युवतीको शव पोस्टमार्टमका लागि बुटवल ल्याइएको छ। 

जिल्ला अस्पताल पाल्पाले पोष्टमार्टम गर्न नमानेपछि १९ वर्षीया युवतीको शव पोस्टमार्टमको लागि बुधबार साँझ प्रादेशिक अस्पताल बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए। 

पाल्पाको सिब्दीकोट गाउँपालिका- १ ख्याहा काराम्दी निवासी दलबहादुर सुनारकी १९ वर्षीया छोरी पद्‍मा सुनारको हत्या भएको अवस्थामा दुई दिनअघि शव फेला परेको थियो। मंगलबार साँझ घरदेखि झण्डै दुई किमी टाढा एकान्त ठाउँमा उनकाे शव भेटिएको प्रहरीले जनाएको छ।

बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा पद्‍माकाे शव फेला परेको हो।

‘मुचुल्कापछि हामीले शव परीक्षणको लागि जिल्ला अस्पताल लगेको थियौँ,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘पाल्पा जिल्ला अस्पतालले परीक्षण नगरी शव बुटवल रेफर गरेको छ। सम्भवतः आज पोष्टमार्टम हुन्छ होला।’

पद्‍मा मंगलवार दिउँसो घरबाट झण्डै अढाई किमी टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन जाँदा घटना भएको हो।  

दिउँसै नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा मंगलवार साँझ धारादेखि झण्डै पाँच सय मिटर टाढा खरबारीमा उनको शव फेला परेको थियो। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले भैरहवाबाट लगिएको तालिम प्राप्त कुकुरसहित घटनाको अनुसन्धान गरेको छ।  

प्रहरीले अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा कसैलाई पक्राउ नगरेको डीएसपी श्रेष्ठले बताए।  ‘हामीले घटनाका केही तथ्यगत प्रमाणहरु फेला पारेका छौँ। केही शंकास्पद व्यक्ति निगरानीमा छन्। हामी थप अनुसन्धानकै क्रममा छौँ।’ 

प्रेम सम्बन्धमा खटपट हुँदा उनको हत्या भएको आशंका प्रहरी र स्थानीयलले गरेका छन्। अहिलेसम्म अभिभावकले कसैविरुद्ध किटानी जाहेरी भने नदिएका डीएसपी श्रेष्ठले बताए। 

घरमै पानीको धारा भए पनि नुहाउन सजिलो हुन्छ भनेर उनी घरबाट झण्डै अढाई किमी टाढा रहेको सार्वजनिक धारामा गएको पाइएको प्रहरीले जनाएको छ। अरुबेला पनि उनी नुहाउन उक्त धारामा जाने गरेको अभिभावकले बताएका छन्।

‘त्यो जंगल क्षेत्र हो। सार्वजनिक धारा पनि जंगलको नजिकै पर्छ। शव भेटिएको ठाउँ धाराबाट झण्डै पाँच सय मिटर टाढा खरबारी हाे। त्यो सबै एकान्त स्थान हुन्,’ डीएसपी श्रेष्ठले भने। 

पोष्टमार्टमको रिपोर्ट आएपछि घटना अनुसन्धामा सहज हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .