समाज


सप्तकोसीमा पानीको बहाब बढेपछि खोलिए ब्यारेजका १६ ढोका

सप्तकोसीमा पानीको बहाब बढेपछि खोलिए ब्यारेजका १६ ढोका

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८२ शनिबार ८:४२, काठमाडौँ

लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोसी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोसी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्।

गएरातिको मापनमा ब्यारेज भएर बहने पानीको सतह १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेक हो।

लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार बाढी, पहिरो, डुबान तथा यातायात अवरुद्धजस्ता जोखिम हुनसक्ने भएकाले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न, डुबान वा पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दाले सुरक्षित स्थानमा सर्न र नदी किनार नजिक बसोबास गर्नेहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यसैगरी, विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर तथा एक्जाभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि लगातार भइरहेको वर्षाका कारण जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad