समाज


झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ

झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार ६:१, सुनसरी

सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन्।

यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए।

उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्‍याउन थालेपछि कैदीबन्दी भागेका थिए।

कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सनाले उल्लेख गरे।

उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए।

कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेका उपरीक्षक तिम्सनाले जानकारी दिए।

सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad