समाज


हात्तीको उपद्रो रोक्न झापामा कागती खेती

हात्तीको उपद्रो रोक्न झापामा कागती खेती

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार ९:८, झापा

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर-४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा वितरण गरेको छ। 

हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरेको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए।

‘जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो’, उनले भने, ‘कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ।’

मेचीनगर नगरपालिका-४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत ३०० परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए। हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्‍याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उनले जानकारी दिए।

उनका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ। कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन्।

बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जङ्गली हात्ती आउने गरेका छन्। हात्तीले सुपारीको फल र पात खाँदैन। तैपनि भाँचेर नष्ट गर्दै आएको किसान गुनासो गर्छन्। वडा कार्यालयले प्रतिपरिवार दुईदेखि २५ वटासम्म कागतीको बिरुवा स्थानीयवासीलाई वितरण गरेको छ। ‘कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो’, वडाध्यक्ष कार्की भन्छन्, ‘कागती लगाएको ठाउँमा हात्ती पस्दैन।’ 

भारतबाट जङ्गली हात्ती प्रवेश गर्ने पहिलो नाकाका रूपमा बाहुनडाँगी परिचित छ। यहाँ दशकौँदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ। 

हात्ती नियन्त्रण र बाली जोगाउनका लागि १० वर्षदेखि सीमावर्ती र जङ्गल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिँदै आएको छ। यसका साथै हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad