समाज


पूर्वमा हावाहुरी र वर्षाले व्यापक क्षति

पूर्वमा हावाहुरी र वर्षाले व्यापक क्षति

नेपालखबर
जेठ १९, २०८२ सोमबार १३:२९, विराटनगर

हावाहुरीसँगै आएको अविरल वर्षाका कारण कोसी प्रदेशका झापा, मोरङ, धनकुटासहितका जिल्लामा धेरै क्षति भएको छ।  

आइतबार राति हावाहुरीसँगै आएको वर्षाको कारण धनकुटाका विभिन्न ठाउँमा भएको अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

साँगुरीगढी गाउँपालिका ६ स्थित नमस्ते झरना छेउमा झरेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

बाढीको कारण फेदीस्थित लेउती खोलाले कटान गरेको क्षेत्रको सडक आज पनि अवरुद्ध भएको थियो। बिहान केहीबेर भएको अवरुद्ध सडकलाई एकतर्फी खुलाउने काम भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

साँगुरी गढी गाउँपालिका ६ स्थित लुम्फाजुङमा पहिरो जाँदा भेडेटार–रवि–राँके सडक पनि अवरुद्ध भएको छ। अवरुद्ध सडकमा अझै यातायात सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ। 

सुनसरीको वराहक्षेत्रदेखि भोजपुरको कोप्चेसम्म अरुण नदीमा सञ्चालनमा रहेको मोटरबोट नदीमा पानीको बहाव बढेको कारण सञ्चालनमा आउन सकेको छैन। अहिले भोजपुर–चतरासम्म मोटरबोट मार्फत सर्वसाधारणले आवतजावत गर्दै आएका छन्। 

हावाहुरीले तहसनहस
गएराति आएको हावाहुरीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। हावाहुरी छाना उडाउने, रुख ढालेर घरहरूमा क्षति गर्ने र सडकहरू अवरुद्ध भएका प्रहरीले जनाएको छ। 

अविरल वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका–९ स्थित तुलसी बहुमुखी सहकारी संस्थाको भवनमा क्षति भएको छ। 

हाल बन्द अवस्थामा रहेको सहकारीको अगाडिको सम्पूर्ण सिसा फुटेर झरेको छ। घरको छतको ट्रस हावाले उडाउँदा मे १ ज २०३० नम्बरको बोलेरो गाडीमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

त्यस्तै, सो भवनको माथिल्लो भागमा लगाइएको ट्रस हावाले उडाएर नजिकैको दाजुभाइ पसलमा झरेको छ। ट्रस झर्दा पसलको छानोमा समेत क्षति पुगेको छ।

आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रमा पनि ठूलो क्षति भएको छ। राति ठाउँ–ठाउँमा ढलेका रुखका कारण अवरुद्ध भएको सडक प्रहरीले खुवाएको छ।  

हावाहुरीले किसान र साना उद्यमीको व्यवसायमा पनि क्षति गरेको छ। लेटाङ स्थित जाँतेमा किसानले खेती गर्दै आएको च्याउ फार्मको टहरा उडाएको छ। 

जाँते क्षेत्रमा हावाहुरीले सुपारी र केराका बोट ढालेको छ। हावाहुरीले बिजुलीका पोल ढाल्दा लेटाङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। 

हावाहुरीका कारण बेलचौरीमा चारवटा, किराँत चोकमा एउटा, कमलपुरमा चार वटा र खेरुवामा एउटा हाइटेन्सन विद्युत् प्रसारण लाइनको पोल ढलेको अवरुद्ध विद्युत् प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad