समाज


मेचीनगरवासी चितुवाको त्रासमा

अभिभावकलाई बालबालिका जोगाउने चिन्ता
मेचीनगरवासी चितुवाको त्रासमा

नेपालखबर
जेठ १८, २०८२ आइतबार १२:४०, झापा

हात्ती प्रभावित झापाकाे मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए। विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए।

‘हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ’, वडाध्यक्ष बराल भन्छन्, ‘प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ। अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ।’

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ। स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए।

‘अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ’, उनले भने, ‘चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन।’ मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन्। उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी बयस्क चितुवा रहेको दाबी गरे।

दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवा स्थानीयवासीको एक दर्जन खसीबाख्रा मारेको थियो। कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाय मार्ने खाने गरेता पनि मानवीय क्षति नभएको बताए। उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुनसक्ने बताए।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखापरेको थियो। त्यसबेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए। बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जङ्गली जनावर डुल्दै आइपुग्ने गर्छन्। विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेलापरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad