समाज


एसियाली राजमार्गको काम सुस्त

एसियाली राजमार्गको काम सुस्त

नेपालखबर
चैत १०, २०८१ आइतबार ५:२७, झापा

एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ। 

काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको जानकारी दिए। उनका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो।

एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गरेका थिए।

सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यस वर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ। 

‘अहिले काम गर्न मौसम अनुकूल पनि छ’, एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भने, ‘निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन। हामीले दबाब दिइरहेका छौँ।’

हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ। हालसम्म एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ । साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ। निर्माणकार्यमा कम्पनीले अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको छ। 

हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशतमात्र छ। एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो। 

कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ । बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना ९पूर्वी खण्ड० दमक कार्यालयका प्रमुख पन्त बताउछन्। चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ। 

सो सडक खण्डको चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको आयोजनाले जनाएको छ। सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिए। 

उनका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ। जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad