समाज


थपिएको म्याद पनि सकियो, तर अस्पताल भवनको निर्माण सकिएन

थपिएको म्याद पनि सकियो, तर अस्पताल भवनको निर्माण सकिएन

नेपालखबर
पुस २६, २०८१ शुक्रबार ९:५३, खोटाङ

तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो। 

सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ। 

पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम सुरू गरिएको थियो। निर्माणाधीन अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशन ९विभाजन०को काम बाँकी नै छ। 

अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा पुष्कल राईले बताए। 

‘अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा बिरामी आउँछन्। कतिपयलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी हुन्छन्’, उनले भने, ‘अस्पताल भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरूरी छ।’

अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष (सुत्केरी गराउने ठाउँ), शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ। पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन्।

अस्पताल भवन निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो। मङ्सिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ। 

विसं २०४९ वैशाख १ गते स्थापना १५ शय्याको अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित रू २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा ५० शय्यामा स्तरोन्नति गर्नेगरी अस्पताल भवनको ठेक्का लगाइएको थियो। 

गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको कामलाई बेलामा सम्पन्न गर्न नसकिएको निर्माणस्थलमा खटिनुभएका ठेकेदार कम्पनीका साइड इञ्जिनियर हरिशङ्कर बान्तोलाले बताए।

पहिलो तलामा ओपिडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रूम लगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाईको हुने सम्झौतामा उल्लेख छ। 

चार तले आरसिसी पक्की भवन दोस्रो तलामा प्रसुतिसम्बन्धी सेवा तथा प्रसुतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण गरिने प्राविधिक स्टिमेटमा उल्लेछ। 

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि सामान्य किसिमका बिरामीलाई समेत बाहिरी जिल्ला लानुपर्ने बाध्यता रहेको जिल्लावासीले बताएका छन्। अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार तथा भवन अभाव भएकै कारण अधिकांश बिरामीलाई बाहिर सुविधासम्पन्न अस्पताल ‘रेफर’ गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन्। 

स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराउने गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ। विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङ्कङ तथा बेलायतमा रहेका खोटाङ्गेहरूले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad