समाज


प्रहरीका पूर्व हबल्दारको घर जल्दा ११ लाखको क्षति

प्रहरीका पूर्व हबल्दारको घर जल्दा ११ लाखको क्षति

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ५:५३, खोटाङ

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ। 

शनिबार दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको आगोले गुरुङ परिवारको एउटा घर, एउटा मतान, घरभित्र भएका रु १० हजार नगद, दुई तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, कागजपत्र, अन्नपातलगायत जलेर नष्ट भएको हो। 

नेपाल प्रहरीका पूर्वहबल्दारसमेत रहेका गुरुङको दुईवटा घरमध्ये फुसको छाना भएको तीनतले एउटा घर र फुसकै छाना भएको तीनतले नै एउटा मतान आगलागीमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

दिउँसो करिब साढे ३ बजे सुरु भएको आगो स्थानीयवासी र प्रहरीको टोलीले साँझ साढे ७ बजेमात्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। 

फुसको छाना तथा ढुङ्गामाटो र काठ प्रयोग गरेर निर्माण गरिएको घरमा आगलागी भएका कारण निभाउन धेरै समय लागेको हो। दिउँसोको समयमा आगलागीका घटना भएकाले मानव र पशुचौपायालाई भने सुरक्षित गर्न सकिएको प्रहरीले जनाएको छ। 

आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट भएपछि गुरुङ परिवार चिन्तित बनेका छन् । आगलागीपीडित गुरुङ परिवार अहिले आफ्नै अर्को जस्तापाताको छाना भएको घरमा बसिरहेको प्रहरी चौकी डुम्रेधारापानीका हबल्दार ओमकुमार राउतले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad