समाज


मुस्ताङबाट ३४ बोरा शालिग्राम बरामद

मुस्ताङबाट ३४ बोरा शालिग्राम बरामद

नेपालखबर
बैशाख १, २०८२ सोमबार १३:२५, मुस्ताङ

मुस्ताङबाट प्रहरीले ठूलो परिमाणमा अवैध शालिग्राम शीला बरामद गरेको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम बरामद गरेको हाे।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जिपलाई शङ्का लागि चेकजाँच गर्दा अवैध शालिग्राम फेला परेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैध रुपमा लुकाइछिपाइ जोमसोमतर्फ ल्याउँदै गरेकाे अवस्थामा शालिग्राम बरामद भएकाे हाे। अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जिप, त्यस चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

यता एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।

मुस्ताङको दामोदरकुुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान्को प्रतीकको रुपमा पुज्ने गरिन्छ। व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ। तर, व्यक्तिगत रुपमा फुटकर शालिग्राम शीला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ। 

मुस्ताङमा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो अवस्थामा छ। तर, मुस्ताङमा आउने वार्षिक पाँच लाख भक्तजनले एकरएक वटा शालिग्राम खरिद गरेर लैजाने हो भने पनि मुस्ताङबाट ठूलो परिमाणमा शालिग्राम जिल्लाबाट बाहिरिने गर्छ।

मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन्। मुस्ताङमा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad