समाज


म्याग्दीमा भित्रियो शैक्षिक सत्र अगावै पाठ्यपुस्तक

म्याग्दीमा भित्रियो शैक्षिक सत्र अगावै पाठ्यपुस्तक

नेपालखबर
चैत २५, २०८२ बुधबार ६:१५, म्याग्दी

आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा भित्रिएको छ।

पुस्तक व्यवसायीहरूले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालयहरूलाई वितरण गर्न थालेका हुन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीका अध्यक्ष नारायण शर्माले पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यक पुस्तक खरिद गरी बेनी ल्याइसकेको जानकारी दिए ।

‘विगत १० वर्षदेखि म्याग्दीका पुस्तक व्यवसायीहरूले बेनीमा सामूहिक रूपमा बिक्री कक्ष स्थापना गरेर विद्यालयमा पुस्तक पुर्‍याउन गरेको अभ्यासलाई यसपालि पनि निरन्तरता दिएका छौं,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुनुअघि नै यही महिनाभित्र सबै विद्यालयमा पुस्तक पु¥याउने लक्ष्यसहित बिक्री कक्ष सञ्चालन गरेका छौँ ।’

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका विद्यालयहरूलाई प्राथमिकता दिएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कअनुसार पुस्तक प्याकिङ गरेर पालिकाको केन्द्रमा रहेका पुस्तक पसलसम्म ढुवानीको व्यवस्था मिलाएको पनि शर्माले बताए । आजदेखि पुस्तक विद्यालयमा पठाउन सुरु गर्ने उनले बताए ।

महासङ्घमा आबद्ध २८ जना पुस्तक व्यवसायीहरूले संयुक्त रूपमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । महासङ्घमा आबद्ध नभएका पुस्तक व्यवसायी भीमबहादुर श्रेष्ठले पनि माग अनुसारका पुस्तक भित्र्याएर वितरण गर्न थालिसकेको बताए ।

म्याग्दीका सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्म १७ हजार ३३६ सेट पुस्तक आवश्यक पर्छ । निजी विद्यालयहरूमा करिब छ हजार विद्यार्थी छन् ।

बालकक्षामा एक हजार ९०६, कक्षा १ मा एक हजार ४६४, कक्षा २ मा एक हजार ३४५, कक्षा ३ को एक हजार ४०२ र कक्षा ४ को एक हजार ४६६ जना विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याएको महासंघका सचिव ध्रुवराज सुवेदीले बताए ।

कक्षा ५ मा एक हजार ५२७, कक्षा छ मा एक हजार ६१०, कक्षा ७ मा एक हजार ६०१, कक्षा ८ मा एक हजार ७०६, कक्षा ९ मा एक हजार ७३२ र कक्षा १० मा एक हजार ४९७ विद्यार्थी रहेका छन् ।

उक्त सङ्ख्याका विद्यार्थीका लागि यस वर्ष १३ हजार २४५ थान पुस्तक म्याग्दी आइपुगेका छन् । गत वर्षको मौज्दात रहेको पुस्तक पनि रहेकाले अभाव नहुने सचिव सुवेदीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad