समाज


ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

नेपालखबर
फागुन १३, २०८२ बुधबार १३:५३, बागलुङ

‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ।

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र गरिएको छ।

विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उनको भनाइ छ। बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनने प्रमुख श्रेष्ठ बताउँछन्।

उनले भने, ‘ट्रयाक खुलेको धेरै समय भएको थियो, तर अहिलेसम्म कालोपत्र नहुँदा गाउँमा धुलोले स्थानीय आजित थिए, यात्रा र सामान ढुवानीमा पनि उस्तै समस्या थियो, अब कालोपत्र सडकले उनीहरूको यात्रामात्र होइन दैनिकी नै सहज बनाउने अपेक्षा लिएका छौँ।’

तीन सडकले बागलुङ नगरपालिका–१, ४ र ७ वडा जोडेको छ। सडक कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्त भएको स्थानीय तुलसी सापकोटाले बताइन्। केही महिना अगाडिसम्म घर अगाडि गाडी गुड्दा धुलो र हिलो भान्छा कोठामै पुग्ने गरेको भन्दै अहिले कालोपत्र गरेको चिटिक्क बनेको उनको भनाइ छ।

अर्का स्थानीय प्रेम विकले अब बागलुङ बजार आवातजावात गर्न निकै सहज हुने बताए । पहिले अप्ठ्यारो र साँघुरो हुँदा साढे एक घण्टा लाग्ने गरेको भन्दै अब २५–३० मिनेटमै बजार झर्न सकिने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad