समाज


पूर्व सांसद गोविन्दप्रसाद शर्माको निधन

पूर्व सांसद गोविन्दप्रसाद शर्माको निधन

नेपालखबर
असार १६, २०८२ सोमबार ६:२, बागलुङ

पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ। 

उनको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो। चितवनदेखि काठमाडौँ उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन्। कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए।

कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए। हाल उनी जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए।

यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद कँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

बाग्लुङको बिहूँकोटमा विस १९९५ पुस १४ गते जन्मिएका कँडेलले विस २०१० सालमा बीपी कोइरालाबाट पार्टी सदस्यता गरेका थिए। विस २०१९ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको कमाण्डर भई वनारसबाट तरूण पत्रिका लिएर आउँदा उनी पाल्पामा गिरफ्तार भएका थिए।

निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा र लोकतन्त्रको पक्षमा भएका सङ्घर्ष र आन्दोलनका क्रममा विस २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी उनले सात वर्ष जेल जीवन बिताएका थिए।

उनकाे सरल, सादगी, शालीन र प्रेरणादायी जीवनशैली थियाे। कँडेलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad