समाज


कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन

कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन

नेपालखबर
जेठ १८, २०८२ आइतबार १२:२८, पर्वत

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुस्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ। कुस्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नम्बर ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघर निर्माण कार्यले पूर्णता पाउनसमेत सकेको छैन।

नगरपालिकाको ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएकाे घण्टाघरलाई साँचो लगाएर राखिएको छ भने बाहिरी संरचना जीर्ण बन्दै जान थालेका छन्।

स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए। घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो।

कुश्मा- ५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताए। दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उनको भनाइ छ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिए। उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।

घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए।

उनका अनुसार घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको दाबी गए।

साहसिक पर्यटनको हब बन्दै गएको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जि र विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको उक्त घण्टाघरलाई समयमै पूर्णता दिन सकेमा पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad