समाज


डेढ करोड खर्चेर वडा कार्यालय भवन निर्माण

डेढ करोड खर्चेर वडा कार्यालय भवन निर्माण

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १०:५२, म्याग्दी

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ। आर्थिक वर्ष २०७९र८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो। 

आव २०७९र८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो। रु ७१ लाख ६६ हजार ४१५ मा २०८० चैतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले एक सय २० जना क्षमताको सभाहल, रङरोगन, विद्युत्, पानी, फर्निचरको काम गरेको थियो।

चालु आर्थिक वर्षमा विनियोजन भएको रु २७ लाख बजेटबाट घेराबार गरेर पूर्णता दिइएको वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए। भवन निर्माण गर्न रु ५९ लाख खर्चेर चार रोपनी जग्गा खरिद गरिएको थियो। भाडाको घरमा सञ्चालित वडा कार्यालय नयाँ भवनमा सारिएको छ। नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको छ। भाडाका लागि भइरहेको खर्च बचत भएको वडाध्यक्ष शेरपुञ्जाले बताए।

आठवटा वडा रहेको गाउँपालिकाले यसअघि पाखापानीमा वडा नं ६ र भगवतीमा वडा नं २ का लागि भवन निर्माण गरेको थियो। वडा नं ७ को कार्यालय साविक चिमखोला गाविसको भवनबाट सञ्चालन भइरहेको छ। वडा नं १ बेगखोला, वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको कार्यालय तत्कालीन गाविस, सामुदायिक विद्यालय भवनबाट सञ्चालित छन्।

मौवाफाँटमा सभाहलसहितको भवन बनाएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए । रु एक करोड १५ लाख ८६ हजार ४४७ कबोलेमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो।

ठेक्का प्रक्रियामा १० वटा निर्माण कम्पनी सहभागी भएका थिए। आगामी वर्ष पनि बजेट विनियोजन गरेर भवन निर्माणलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad