समाज


व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

नेपालखबर
चैत १, २०८१ शुक्रबार १०:२३, तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सिप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन्। 

विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन्। विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन्।

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक ध्रुव वाग्लेले जानकारी दिए । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उनले बताए । उनले भने, 'व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दङ्ग छन्।'

कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा ७ का विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का विद्यार्थी रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ। 

सधैँ किताब मात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताए । उनले भने, 'सानैदेखि वाद्यवादन क्षेत्रमा रमाउने इच्छा विद्यालयले पूरा गराउन खोजेकामा विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु।'

आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताए । 'घरमा पनि एक न एक काममा व्यस्त रहन्थेँ। हाल शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि मलाई व्यावसायिकतातर्फ अगाडि बढ्ने बाटो खुलेको छ,' उनले भने।

विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोक संस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad