समाज


अमलटारीबाट पोथी गैँडा पूर्व लगियो

अमलटारीबाट पोथी गैँडा पूर्व लगियो

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८१ आइतबार १०:२७, काठमाडौँ

एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको हो।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करिब १५ वर्षीय वयस्क पोथी गैँडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको छ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको उनले बताए। सन् २०२२ मा गैँडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो।

अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो। गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो।

निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरणको काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए।

निकुञ्जले दुई भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण गर्ने तयारी गरेकामा अब एउटा पोथी र दुई भाले गैँडा स्थानान्तरण गरिने उनले बताए।

निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने संरक्षण अधिकृत डा पन्तले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad