समाज


मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

नेपालखबर
माघ १, २०८१ मंगलबार ६:५०, म्याग्दी

म्याग्दीका मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्। जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबै भन्दा ठूलो पर्वका रूपमा मनाउने गर्छन्।  

साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा शुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्ला स्थित मगर सङ्घका सचिव खम थापामगरले बताए। 

“माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उनले भने, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा शुरु भएको दिनका रूपमा मान्ने गर्दछन्।”

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन्। 

यो पर्व मनाउन शहर, बजार र विदेश बाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलिया बाट माघे सङ्क्रान्ति मनाउन परिवार सहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाई सँग भेटघाट हुने अवसर जुुराएको बताए। 

माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्ष अघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन्।

जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलाम बाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नु पर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”,  ८० वर्षीय श्रेष्ठले भने, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे।”

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तन सँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ। पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उनले बताए। 

हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबार देखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला शुरु भएको हो। 

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गते सम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad