समाज


दसैँमा गाउँ नै रमाइलो

दसैँमा गाउँ नै रमाइलो

नेपालखबर
असोज २४, २०८१ बिहिबार ६:३, म्याग्दी

खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द। 

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्छन्, ‘अघिपछि गाउँघरमा उतिसारो युवा हुँदैनन्। पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ। चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ।’

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा  करिब सात हजारले कमी हो।  

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ। अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ।  

तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किएका उनी भन्छन्,‘चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइmलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र १ सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ।’

बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुने बताउछन्। ‘बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच... हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ’, उनले खुसी हुँदै भने।  

हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ।

‘उकाली ओराली गर्दै, 
आँखा भरी रहर भर्दै, 
आधिबेहरीसँग लड्दै, 
खोला नदी सागर तर्दै, 
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए 
आफ्नै गाउँ फर्कि आए 
नयाँ नयाँ सपना ल्याए...’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad