ad ad

समाज


धरौटीमा छुटे जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष

धरौटीमा छुटे जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १९:१५, पोखरा

जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन्। 

त्यही वडाकी वडासदस्य मैया नेपालीलाई जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले शुक्रबार धरौटीमा रिहा गरेको हो। उनीविरुद्ध मैयाले नै किटानी जाहेरी दिएकी थिइन्। 

न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले ‘आरोपितलाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने उपयुक्त कारण नदेखिएको’ ठहर गरेपछि उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। 

आफूविरुद्ध उजुरी परेसँगै वडाध्यक्ष अधिकारीले पुस २६ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए। कास्की जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यका अनुसार उनीविरुद्धको मुद्दा भने यथावत् नै छ। 

‘यो फैसला होइन आदेश हो। पुर्पक्षका लागि धरौटी माग भयो। उनी एक लाख ५० हजार रुपैयाँमा छुटेका हुन्,’,उनले भने। 

कास्की जिल्ला अदालत स्रोतका अनुसार जातीय विभेदलाई भन्दा गालीगलौजलाई प्राथमिकतामा राखेर मुद्दा दर्ता गरिएकाले उनी  धरौटीमा रिहा हुने बाटो खुलेको हो।  

यो मुद्दामा ‘ग्राभिटी’ थिएन। मुद्दाको प्रकृति गाली बेइज्जतीतर्फ आकर्षित भएर आयो,’ उनले भने, ‘पुर्पक्षका लागि थुनामा भन्दा पनि बाहिर राख्न उचित देखियो भन्ने आदेश त्यसकै परिणाम हो।  मुद्दाको अवस्था हेरेर आदेश हुने न  हो।’ 

उनले यसअघि पोखरा १६ लामाचौरमा घटेको जातीय विभेदको घटनाका दोषीलाई जेल चलान गरिएको घटना स्मरण गर्दै भने,‘अदालतले हेर्ने मुद्दाको प्रकृति र जाहेरी नै हो। मुद्दा गालीब्यइज्जतीतर्फ आकर्षित भएको देखियो।’ 

यद्यपि आदेशको पूर्णपाठ आफूले नहेरेको उनले बताए। अधिकारीले पुस १८ गते वडामा डाकिएको स्थानीय आमा समूहहरु भेलामा मैयामाथि जातीय विभेदजन्य गाली गरेका थिए। 

उजुरीकर्ता नेपालीले आफू एकपटकमात्रै नभइ पटक–पटक दुर्व्यवहारको सिकार भएको सार्वजनिक रुपले नै बताउँदै आइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .