ad ad

समाज


मायाको मोबाइल फोन, जहाँ लुकेको छ हत्याको रहस्य

सशस्त्रका जवानले नै हत्या गरेको प्रारम्भिक निष्कर्ष
मायाको मोबाइल फोन, जहाँ लुकेको छ हत्याको रहस्य

बैतडीको पञ्चेश्वरमा हत्या गरिएकी माया लुहार


गोकुल जोशी
मंसिर १५, २०७९ बिहिबार १८:२९, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्याको घटनामा सशस्त्र प्रहरीका एकजना जवानको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेमबहादुर शाहीले प्रारम्भिक अनुसन्धानबाट घटनामा शसस्त्र प्रहरीका जवानको संलग्नता रहेको खुलेको बताए। 

आरोपी शिवनाथ गाउँपालिका–४ का शसस्त्र प्रहरीमा कार्यरत भरत कोली फरार छन्। उनको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

मंगलबार बिहान घरबाट लुगा सिलाउन भनेर घरबाट निस्किएकी मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार शव भेटिएको थियो। 

उनीसँगै रहेकी मायाकी भदै नाता पर्ने १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन्। 

उनको पनि धारिलो हतियारले घाँटीमा प्रहार गरिएको थियो। घाइते नेहाको डडेल्धुरास्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिका नेहाको बयान लिएको छ। प्रारम्भिक बयानमा उनले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताएकी छन्। 

‘पीडित बालिकाको बयान र घटना हुनुअघिका दिनमा मृतक माया र ती सशस्त्र प्रहरी जवानका बीचमा भएको वार्तालापले गर्दा उनको संलग्नताको आशंका गरिएको हो,’ डिएसपी शाहीले भने।

फरार आरोपीको खोजीमा भारत जाने महाकाली नदीको तटीय क्षेत्रमा पनि सुरक्षा बढाइएको छ। अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरीको एउटा अनुसन्धान टोली पनि बैतडी पुगेको छ।

घाँटी काटिएको अवस्थामा मायाको शव बुधवार बेलुका शिवनाथ गाउँपालिका–६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो। 

घाइते नेहालाई सोही ठाउँबाट करिब ३ किलोमिटर दुरीमा गोठालाले भेटेका थिए। 

जोसँग बिहे तयारी उनैतिर शंकाको सुई
माया सैलोडास्थित जबलपुर माध्यमिक विद्यालय  अध्ययन गर्थिन्।  उनकी भदै पनि त्यही विद्यालयको कक्षा ९ की विद्यार्थी हुन्।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उनी घरखर्च चलाउन मंसिर ४ को चुनावमा म्यादी प्रहरी बनिन्। र, छिमेकी शिवनाथ गाउँपालिकामा खटिइन्।

पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत शिवनाथ–४ का भरत कोली पनि घरबिदामा आएका थिए। माया र भरतबीच भेटघाट गर्ने सल्लाह भएरै बिदामा आएको खुलेको छ।

उनीहरुबीचमा चुनावको बेला मात्रै होइन्, त्यसअघि पनि फोन र म्यासेन्जरमा कुराकानी हुने गरेको थियो। 

‘म तिम्रो बहिनीसँग बिहे गर्छु’ भन्दै भरतले मायाको दाजुलाई यसअघि नै प्रस्ताव राखेको परिवारका सदस्यले बताए।

‘जागिरे पनि भएकाले मायाको परिवारबाट रोकतोक थिएन्, उनीहरु विवाह गरिदिन राजी थिए,’ स्थानीयसमेत रहेका पञ्चेश्वर गाउँपालिका-४ का वडाध्यक्ष जनकबहादुर चन्दले भने, ‘बुवाको पहिल्यै मृत्यु भइसकेको थियो, बहिनीको मन मिल्छ भने बिहे गर्दिन्छु भन्दै दाइ घरसल्लाहमा थिए।’

चुनावका बेला माया पनि भरतकै गाउँतिर खटिएकी थिइन्। उनीहरुबीच फुर्सद मिलाएर कुराकानी हुने गरेको खुलेको छ। 

‘भरत मायाप्रति बढी नै आकर्षित थिए, तिमीबाहेक अरुसँग बिहे गर्दिनँ भन्दै अड्डी कस्थे,’ मायाकी एक साथीले नाम उल्लेख नगर्ने सर्तमा भनिन्।

मोबाइलको ‘गुत्थी’
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा भरतको संलग्नता देखाए पनि कारण अझै खुल्न सकेको छैन।

जोसँग बिहेको कुराकानी चलिरहेको थियो, उसैमाथि भरत कसरी क्रूर घटना गर्नसम्म पुगे? भन्ने प्रश्न रहस्यमयी छ।

चुनाव सकिएपछि केही दिनअगाडि स्थानीय कुलाउ बजारमा माया र भरतको भेट भएको थियो। खाजा खाएर घर जाने बेलामा भरतले मायाको मोबाइल खोसेका थिए।

त्यो दृष्य बजारमा धेरैले देखेका थिए। त्यसको केही दिनपछि घटना घटेको हो। प्रहरीले अहिले मायाको मोबाइलको पनि खोजिरहेको छ। जसले घटनाको रहस्य खोल्न सघाउने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

मृतकले प्रयोग गर्ने मोबाइल अहिलेसम्म फेला पर्न नसकेको र खोजी भइरहेको डिएसपी शाहीले बताए।

मायाको मोबाइलबाट उनका साथीहरुसँग भरतले फेसबुक म्यासेन्जरमा कुराकानी गर्ने गरेको समेत खुलेको छ। को–कोसँग के–के संवाद भए त्यो अझै खुलेको छैन।

तर मायाका अन्तरंग साथीहरुसँग भरतले कुराकानी गरेको हुनसक्ने प्रहरीको आशंका छ। ‘त्यसक्रममा युवतीको अरुसँग पनि अफेयर भएको शंका भरतले गरेको हुनसक्छ,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना योजनाबद्ध ढंगले घटना गराएको देखिन्छ। बिहे गर्न तयार भएकी युवतीलाई भरतले घनघोर जंगलमा बोलाएका थिए। 

‘मोबाइलबाट मायाका केही गोप्य कुरा थाहा पाएर योजनावद्ध ढंगले हत्या गरेको हुनसक्ने सम्भावना छ,’ प्रहरी स्रोतले भन्यो।

शिवनाथ मन्दिर क्षेत्रको जंगल सुनसान हुन्छ। त्यहाँ दिनमा हिँडडुल कम नै हुने स्थानीय बताउँछन्।

त्यस्तो स्थानमा विश्वासकै कारण माया आफ्नी भदैसँग गएकी थिइन्। जंगलबीचमा पुगेपछि भरतले मायासँग छुट्टै कुराकानी गर्ने भन्दै आफूलाई टाढा पठाएको नेहाले प्रहरीसमक्ष बयान दिएकी छन्।

धेरै बेरसम्म उनीहरुसँग छुट्टिएर नेहा एक्लै बसिन्। ढिलो भएपछि हेर्न गएको उनले प्रहरीलाई बयान दिएकी छन्।

घाइते नेहाका अनुसार फुपूको शव देखेपछि अत्तालिएर चिच्याउँदा भरतले उनीमाथि पनि आक्रमण गरेका थिए। 

दोस्रो पटक आफूमाथि प्रहार गर्न खोज्दा प्रतिकार गर्ने क्रममा चक्कु भाँच्चिएको नेहाको बयान छ।

त्यसपछि भरतले उनलाई लखेटेका थिए। घटनास्थलभन्दा केही तल आरोपी भरतको टोपी फेला परेको छ। त्यस्तै नजिकै घटनामा प्रयोग भएको चक्कु पनि बरामद गरिएको प्रहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .