सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमानाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागु औषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।
झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेको पनि छुट्टै सक्रियता देखिँदै आएको छ।
जिल्लामा उत्पादन भएको लागु औषध अन्यत्र जाने र बाहिर उत्पादन भएको लागु औषध पनि मकवानपुर हुँदै ओसारपसार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
पछिल्लो समय मकवानपुर लागु औषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन्।
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका, पश्चिमी क्षेत्रको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा लागु औषध गाँजा र अफिमको खेति हुँदै आएको छ।
लागु औषधको खेति गरिनु गैर कानुनी हो। तर पनि यहाँका स्थानीयले लुकीछिपी लागु औषध उत्पादन गर्ने तथा बिक्रीका लागि छिमेकी मुलुकको सीमानासम्म पुर्याउने जस्ता क्रियाकलापले मकवानपुरमा प्रायः हरेक दिनजसो लागु औषध कारोबारीहरु पक्राउ पर्ने गरेका छन्।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुमा विभिन्न शीर्षकमा १ हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने ९ सय २८ जना पक्राउ परेका प्रहरीको तथ्यांक छ।
जसमध्ये लागु औषध सम्बन्धि १ सय ८८ वटा मुद्दा दर्ता हुँदा २ सय ८९ जना लागु औषध सम्बन्धि मुद्दामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपाली नागरिक मात्रै छैनन्। जसमा १३ जना विदेशी नागरिक समेत रहेका डीएसपी अर्यालले बताए।
उनका अनुसार १२ जना विदेशी नागरिक (पुरुष)लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ भने एकजना बिदेशी महिलासमेत लागुऔषध कारोबारको आरोपमा पक्राउ परेकी छन्।
विदेशी नागरिकमा सबैजना छिमेकी मुलुक भारतका रहेका प्रहरीले जनाएको छ।
यसबाहेक २ सय ५९ पुरुष र १७ जना महिला पक्राउ परेका डीएसपी अर्यालले बताए। जसमा लागु औषध ओसारपसार मात्र नभएर सेवनमा संलग्नहरु समेत रहेका छन्। गत आर्थिक वर्षमा उनीहरुको साथबाट ठूलो मात्रमा अवैध लागुपदार्थ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ।
एक वर्षको अवधिमा मकवानपुरको विभिन्न स्थानहरुबाट ६ हजार ४ किलो गाँजा, ५१ किलो ७ सय १० ग्राम चरेश, २६ किलो ८ सय ८० ग्राम अफिम बरामत गरेको बताएको छ।
यस्तै, ६ सय २८ बोतल कोरेक्स, ९५ हजार २ सय ७१ थान नाइट्राभेट तथा ट्रामाडोल ट्याब्लेट÷क्याप्सुल, २ हजार ७ सय ५७ एम्पुल डाइजेपाम र ४ सय ७६ ग्राम ४ सय ३३ मिलिग्राम खैरो हिरोइन बरामत गरिएको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।
उनका अनुसार उक्त लागुऔषध ओसारपसारमा प्रयोग भएका ५५ वटा सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसोत, जिल्लाका तीन स्थानीय तहको ग्रामिण भेगमा लागुऔषधको खेती हुने गरेकोमा यसलाई नष्ट गर्न मकवानपुर प्रहरीले अभियान नै सञ्चालन गर्ने गरेको छ।
जसमा १ सय २० बिगाहा ४ कठ्ठा जमिनमा रोपिएको गाँजा र ३९ बिगाहा १४ कठ्ठा जमिनमा रोपिएको अफिम नष्ट गरिएको मकवानपुर प्रहरीको तथ्यांक छ। उक्त अभियानमा ४ सय २१ जना प्रहरी परिचालित भएको मकवानपुर प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।
Shares

प्रतिक्रिया