तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन। घरभित्र मादल झुन्डिएका छन्। घरबाहिर भुइँमा लडिरहेका देखिन्छन्। सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन्।
नयाँमा दल बनाउने र बिग्रिएको मादल मर्मत गर्ने सीप भएका सुनुवारलाई भ्याइ नभ्याई छ। खाना–खाजा र आराम गर्ने समयसमेत छैन। 'आफूले मात्रै नभ्याएर तीन जनालाई ज्यालामा काम लगाएको छु। सधैँ यसरी काम आउँदैन। काम आएको बेला त गर्नै पर्यो नि, होइन ?', उनले भने।
एक हजार दुई सय रुपैयाँ प्रतिकामदारको ज्याला छ। अहिले ६० वटा मादल जम्मा भएका छन्। 'बिग्रिएको मादल बनाउन यहाँ ल्याएर छोडेका हुन्,' उनले भने, 'कुनै मादल बनिसकेका छन्। कुनै बन्ने क्रममा छन्।'
बनाउन ल्याएका अधिकांश मादल खरी लगाउनुपर्ने अवस्थामा छन्। दिनमा एक व्यक्तिले तीनवटासम्म मादलमा खरी लगाउन सक्ने उनले बताए। एउटा मादलको दुई पट्टि खरी लगाएको रु एक हजार पाँच सय लिने गरिएको उनले बताए।
तिहारमा घिन्ताङ–घिन्ताङमादलबजाएर नाँच्दै देउसी र भैली खेल्ने गरिन्छ। देउसी– भैलोको भाका मादलविना अपूरो हुन्छ। तिहार नजिकिएसँगै मादलको माग बढेको छ। मादल बनाउने सीप भएका सुनुवारको घरमा देउसी–भैलो खेल्न नयाँ मादल किन्ने, पुरानो मादलमा खरी हाल्ने, मादल कस्ने र छाला फेर्नेको भीड देखिन्छ।
बिग्रिएका मादल बनाएर मात्रै १५ दिनको अवधिमा ६० हजार बढी आम्दानी हुने उनको आकलन छ। बूढेसकालले छुनै लागेका सुनुवारले १९ वर्षको उमेरदेखि मादलबनाएर बेच्ने गर्थे।
तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभाव छ । मादल बनाउन अत्यावश्यक कच्चा सामग्री सङ्कलन गर्नै मुस्किल पर्ने उनको भनाइ छ। विशेषगरी मादल बनाउन अत्यावश्यक गाई, गोरुको छाला र काठको अभाव हुँदा समस्या भएको उनले बताए। १९ वर्षको उमेरदेखि मादल बनाउँदै आएका सुनवारले भने, 'अहिले काठ पाउनै मुस्किल छ । जङ्गलमा पाइएको काठ पनि काट्न पाइँदैन। छालाको त्यस्तै समस्या छ।'
मादल बनाउने काठ र छालाको अभाव हुँदा आफूसँग भएको सीपलाई व्यावसायिक रुपमा विस्तार गर्न नसकिएको उनको गुनासो छ । 'यो पेसा संरक्षणमा स्थानीय सरकार, सङ्घ–संस्थाकतैबाट सहयोग भइदिए मादल बनाउने पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउने थिए,' उनले भने।
पहिलाको तुलनामा मादलको माग कम भए पनि अझै केहीले राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनको अनुभव छ। मादल बनाउन कानुनले बन्देज गरेका कतिपय कच्चा सामग्रीसमेत आवश्यक गर्ने भएकाले मादल बनाउने पेसाकर्मीलाई कठिन भएको फिक्कल गाउँपालिका प्रमुख पार्वती सुनुवारको धारणा छ। रासस
Shares

प्रतिक्रिया