ad ad

समाज


सुधार हुँदै मौसम, दसैंमा पानी पर्ला कि नपर्ला?

सुधार हुँदै मौसम, दसैंमा पानी पर्ला कि नपर्ला?

नेपालखबर
असोज १३, २०७६ सोमबार १:१७,

आज (सोमबार)देखि क्रमशः मौसम सुधार हुँदै गएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्ण सफा नभए पनि तुलनात्मक रूपमा आजदेखि मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठको अनुमान छ।

केही स्थानमा हल्का वर्षा भए पनि आगामी तीन दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना नरहेको उनले बताए।

दसैंमा मौसम कस्तो रहला भन्ने प्रश्नमा मौसमविद् श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम मात्र अनुमान गर्ने भएकाले त्यसभन्दा पछिको अवस्था पछि नै भन्न सकिने बताए।

‘हामी ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम अनुमान गर्छाैं, यो तीन दिनचाहिँ खासै पानी पर्ने देखिन्न, पूर्वमा पानी पारिरहेको प्रणाली पनि कमजोर बन्दै छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘दसैं (फूलपाती) आउन त अझै ९ दिन छ, मनसुन गइसकेको छैन, त्यसैले वर्षाको सम्भावना भने हुन्छ।’  

माैसमविद्का अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणाली अवदाबमा परिवर्तन भएको छ। भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भूभागमा छ। यी दुई प्रणालीका कारण नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको छ।

साेही कारण नेपालमा माैसम बदली र वर्षा भइरहेकाे माैसमविद्काे भनाइ छ। 

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएकाे एक हप्ता भइसकेकाे छ। तर मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन्।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ। नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ। 

आजको अवस्था
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्व र मध्य भूभागमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो पूर्व र मध्यका केही स्थानमा हल्का वर्षाको सम्भावना छ तर ठूलो पानी पर्ने सम्भावना छैन।

यस्तो छ आगामी ३ दिनकाे मौसमी अनुमान
असोज १३ गते सोमबार
दिउँसो : देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ।
राति : देशका पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ।

असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ।

असोज १५ गते बुधबार
दिउँसो : देशभर आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।#माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .