समाज


सडक निर्माणमा ढिलाइ भएको भन्दै नेपाल–भारत सीमानाका बन्द

सडक निर्माणमा ढिलाइ भएको भन्दै  नेपाल–भारत सीमानाका बन्द

प्रकाश न्यौपाने
असोज ४, २०७६ शनिबार १२:४९,

ठेकेदारको ढिलासुस्तीले सडक निर्माणमा ढिलाई भएको भन्दै सीमा क्षेत्रका बासिन्दाले नेपाल–भारत सीमानाका आधा घण्टा बन्द गरेका छन्।

शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ का स्थानीय बासिन्दाले नाका बन्द गरेका हुन्।

भैरहवा भन्सार कार्यालयको गेट अगाडि स्थानीयले चक्काजाम गरेर विरोध गर्दा आधा घण्टा सवारी आवतजावत ठप्प भएको थियो। बेलहिया–बुटवल व्यापारिक सडक मार्गअन्तर्गत भारतसँग सीमा जोडिएको बेलहियादेखि भैरहवातर्फ ६ सय मिटर ठेक्का लिएको विरुवा कन्ट्रक्सनले समयमै काम नगरेको भन्दै स्थानीयले विरोध गर्दै चक्का जाम गरेका हुन्। साढे दुईवर्ष अघि नै भत्काइएको सडक निर्माण समयावधि सकिन लाग्दा समेत काम नहुँदा घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुँदा स्थानीय आजित छन्।

‘हामीले धेरैपटक प्रशासनलाई जानकारी गरायौं। ठेकेदारलाई भेटेरै काम चाँडो गर्न भन्यौं। आयोजनालाई पनि काममा विलम्ब भएको भन्दै सचेत गरायौं तर कुनै निकायले नसुन्दा हामी बाध्य भएर नाका नै अवरोध गर्न उत्र्यौं’, स्थानीय बासिन्दा समेत रहेका नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा.शान्तकुमार शर्माले भने। बेलहिया स्थलमार्थ हुँदै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटक भित्रिने नाका समेत हो। तर, ठेकेदारले सडक निर्माण अलपत्र पार्दा यहाँबाट भित्रिने पर्यटक नाक थुनेर ओहोरदोहोर गर्छन् । कुहिएको हिलो डुङडुङ्ती गहन्याउँछ । फोहोरको दुर्गन्ध उस्तै छ।

अध्यागमन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष बेलहिया नाका हुँदै तेस्रो मुलुकका मात्रै पौने दुई लाख पर्यटक नेपाल भित्रिन्छन्। समयावधि सकिनै लाग्दा समेत अलपत्र छाडिएको सडकका कारण स्थानीयसँगै पर्यटकले सास्ती खेप्ने गरेका छन्। ‘धुलोले यहाँबाट ओहोरदोहोर गर्ने मान्छे चिन्नै मुस्किल पर्छ। यस्तो अवस्था कति सहेर बस्ने भनेर हामीले विरोध गरेका हौं। यदि अझै पनि सम्बन्धित निकायले सुनेन भने हामीले बेलहियाबाट यातायात चल्नै दिन्नौं’, स्थानीय एवं लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले भने।

अहिले प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाइरहेको छ। संघ सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाउने तयारी थालेको छ तर स्थलमार्थबाट मुलुकमै सबैभन्दा बढी पर्यटक भित्रिने नाका अस्तव्यस्त हुँदा पर्यटन व्यवसायी चिन्तित छन्। ‘नाका क्षेत्र यस्तै रह्यो भने हामीले भित्र्याउने भनेका २० लाख पर्यटक सपनामै सीमित रहन्छ’, अध्यक्ष शर्माले भने, ‘सरकारले छिटोभन्दा छिटो समस्या समाधान गरी नाकालाई सुन्दरीकरण गर्नुपर्छ। काम नगर्ने ठेकेदारलाई दण्ड जरिवानासहित कारबाही गर्नुपर्छ।’

स्थानीयको बन्दले आधा घण्टा बेलहियाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। दैनिक मालबाहक र अन्य सानाठूला गरी एक हजार पाँच सय बढी सवारी ओहोरदोहोर गर्ने नाकामा भएको चक्काजामले दिनभर ट्राफिक जाम भएको थियो। अन्तर्राष्ट्रिय नाकामा यसरी चक्काजाम किन गरेको ? भन्ने प्रश्नमा अध्यक्ष शर्माले भने, ‘अन्तर्राष्ट्रिय नाकामा बन्दहड्ताल चक्काजाम गर्न पाइँदैन। यसबारे हामी पनि सचेत छौं। तर बाध्यता भएपछि जस्तोसुकै काम पनि गर्नुपर्दो रहेछ।’

आयोजना प्रमुख जीवन्द्र मिश्राले भने सडक निर्माणमा केही ढिलाई भए पनि पछिल्लो समय कामले गति लिएको बताए। ‘महिनौंदेखि बिजुली पोल सारिरहेको छ। अब एकदुई दिनमा सकिन्छ। वर्षात्ले काम गर्न सकिएन। भन्सार नाका भएकाले गाडी ओहोरादोहोर गर्दा पनि निर्माणमा समस्या भएको छ’, उनले भने, ‘एकहप्ता अघि मैले अफिसमा कन्ट्रयाक्टरलाई बोलाएर दसैंभित्र सवबेस र बेसको काम सक्न कागजात गरेको छु। यो कपी प्रशासनलाई पनि दिएको छु। ठेकेदारले तार्केट पूरा गर्छु भनेको छ, गर्छ । अहिले घाम लागेपछि धमाधम काम भइरहेको छ।’ उनले दसैंलगत्तै पिचको काम गर्नेगरी अहिले दु्रत गतिमा काम भइरहेको जनाए। करिब १० करोडमा ३० महिनाको ठेक्का पाएको विरुवाको निर्माण सम्पन्न अवधि यही असोज मसान्तसम्म छ। तर, अहिलेसम्म ३० प्रतिशत जति मात्रै काम भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .