समाज


अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १२:२७,

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन्।

अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन्। अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन्।

अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी छ। वार्तामा तालिबान समूहले अफगानिस्तानलाई आतंकवादको अखडा बन्नबाट आफूहरुले रोक्ने विश्वासिलो आधार प्रस्तुत गर्न प्रयासरत छन्।
‘हामी सम्झौताको अति निकटमा छौं। हाम्रा मुस्लिम दाजुभाइ तथा स्वतन्त्रता पक्षधर सबैलाई हामी एउटा खुशीको समाचार ल्याउने आशामा छौं,’ तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटमा भनेका छन्।

वासिंटनमा जनरल जोसेफ डनफोर्डले अमेरिकी सेनाले अफगानिस्तान छाड्नुअघि केही विषयमा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले सम्झौता बमोजिम सेना फिर्ता हो भनेर अहिल्यै भन्न नसकिने बताए।

‘हामी अफगानिस्तान आतंकवादीको अखडा नबनोस् भन्ने चाहन्छौं। अफगानिस्तानमा शान्ति र स्थिरता हाम्रो चाहना हो,’ उनले भने।
रक्षामन्त्री मार्क एस्परले पनि तालिबान विद्रोहीले अफगानिस्तानलाई आतंकवादीको अखडा बन्नबाट रोक्नुपर्नेमा जोड दिए। उनले अमेरिकाविरुद्ध हुने कुनै पनि प्रकारका आक्रमण आफूहरुलाई स्वीकार्य नहुने पनि बताए।

संयुक्तराज्य अमेरिकाले अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो। अफगानिस्तानमा तत्कालीन तालिवानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप थियो।
वासिङ्टनले हाल सैनिक संलग्नता अन्त्य गर्न चाहेको छ। यसै सिलसिलामा सन् २०१८ देखि तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादको नेतृत्वमा वार्ता जारी छ।

अमेरिका र तालिबानबीच हुने भनिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेना चरणबद्ध रुपमा फिर्ता हुने, अफगानिस्तानलाई जिहादीहरुको सुरक्षित आश्रयस्थल बन्न नदिइने, अफगानिस्तान सरकारसँग वार्ता गर्ने तथा अन्ततः युद्धविराम गर्ने बुँदाहरु रहेका छन्।
अमेरिकी जनरल डनफोर्डले तालिबानसँगको सम्झौता सर्तसहितको हुने बताए।

विद्रोही नेताहरु भने अफगानिस्तान–पाकिस्तानको सीमावर्ती क्षेत्रमा पछिल्लो सम्झौताको मस्यौदामाथि विचारविमर्श गर्न थालेका छन्।
पाकिस्तानमा रहेका तालिबानका एकजना वरिष्ठ कमान्डरले भने, ‘सबै शुरा सदस्यहरुलाई सम्झौताको मस्यौदा दिइएको छ र उनीहरुले यसमाथि गम्भीर अध्ययन गरिरहेका छन्। दोहामा रहेको तालिबान टोलीलाई अझै सम्झौताका बारेमा अघि बढ्न आदेश दिइएको छैन।’

उनले भने, ‘यसका लागि अझै एक वा दुई दिन लाग्नेछ किनभने तालिबानका नेताहरुले फिल्डमा खटिएका कमान्डरहरुको विश्वास लिन केही दिन लाग्नेछ।’

अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि सम्झौताका बारेमा अफगान राष्ट्रपति अश्रफ घानीसँग कुराकानी गर्न एक दुई दिनभित्रै काबुल आउने कार्यक्रम तय भएको छ। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad