दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो।
नेपाल–भारत जोड्ने झोलुंगे पुल असार १ गतेदेखि ४ गतेसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शंकररबहादुर विष्टले जानकारी दिए।
भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो। सोहीबमोजिम चार दिन पुल बन्द गराइएको हो।
नेपाल–भारत जोड्ने खलंगास्थित झोलुंगे पुल जीर्ण बन्दै गएकाले मर्मत अवधिभर पुल बन्द गराइदिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको छ।
यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मत गर्ने जनाए पनि अन्तमा गरेको थिएन।
विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुंगे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मत गरिने बताइएको छ।
भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुंगे पुलको हरेक तीन वर्षमा मर्मत गरिँदै आएको छ। सोहीअनुसार भारतीय पक्षले नेपाल–भारत जोड्ने झोलुंगे पुल मर्मत गर्न लागेको हो।
भारतीय बजारमा निर्भर स्थानीय नेपाली झोलुंगे पुल बन्द हुँदा समस्यामा पर्ने गर्छन्।
प्रतिक्रिया