ad ad

समाज


रमेश खरेल आएसँगै फेरिएको प्रहरीको पोखरा कनेक्सन

रमेश खरेल आएसँगै फेरिएको प्रहरीको पोखरा कनेक्सन

वाशुदेव मिश्र
जेठ ३२, २०७६ शनिबार ८:५६,

कास्की कुनै बेला जंगबहादुरलाई श्री ३ को श्रीपेच पहिर्‍याउने जिल्ला हो। राणाकालमा यहाँ बडाहाकिम बस्थे तर पाल्पाको छायाँमै थियो, पोखरा।

प्रजातन्त्र आएपछि विपी कोइराला, किशुनजी र गणेशमानहरु जहाज चढेर पोखरा आए। नेपाल बाहिरी विश्वको लागि खुल्ला भएपछि यो विदेशीहरुको सहर बन्यो। फेवा किनारको बैदाम लेकसाइडमा बदलियो। यहाँका मान्छेका दिनचर्या पनि बदलियो।

सुन्दर पोखरामा पछि महेन्द्रले रत्नमन्दिर बनाए। पोखरा भिआइपीहरुको रोजाईमा पर्न थाल्यो। भिआइपीसँगै यसको सामरिक महत्व बढ्यो। लाहुरेको सहर पोखरा कुनै बेला टोलटोलमा हुने ग्याङफाइट र फेसनले पनि चर्चामा रह्यो। अकल्पनीय नमिता सुनिता हत्याकाण्डको थलो पनि पोखरा नै बन्यो।

पुरानो भैरव टोलमा रहेको कारागार र जिल्ला प्रशासनहरु फेवा किनाराको पार्दीतिर सरे। सहर बढ्दै गर्दा सुरक्षा चासो बढ्न थाल्यो। पहिला इन्स्पेक्टरको कमाण्डमा रहने यहाँको सुरक्षा कालान्तरमा डिएसपी र एसपीसम्म उक्लियो। अहिले कास्की प्रहरीको कमाण्ड एसपीको जिम्मामा छ। प्रदेशस्तरीय प्रहरी, सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी र गण, नेपाली सेनाको पश्चिम पृतना र गण हेर्दा लाग्छ, पोखरा सबैभन्दा सुरक्षित सहर हो।

तर, सशस्त्र र नेपाली सेनाभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने त जनपद प्रहरी नै हो। सर्वसाधारणले जनपद प्रहरीकै गतिबिधी हेरेर सुरक्षा निकायहरुप्रति आफ्नो धारणा बनाउँछन्। अन्य जिल्लामा पनि करिब यस्तै हो।

कुनै बेला प्रहरी निरीक्षकको बर्दीमा सजिँदा प्रहरीका पूर्व आइजी अच्यूतकृष्ण खरेलले पोखरा हल्लाए। खासगरी लामो कपाल पालेको देख्नै नहुने उनको स्वभावको चर्चा देशैभर चल्यो। पोखरामा घुमाएको डण्डाले उनको बढुवामा कत्तिको योगदान गर्‍यो भन्न सकिँदैन तर उनी पुलिसको सर्वोच्च पद पुगे।

अर्का आइजी रवीन्द्रप्रताप शाहले पनि पोखरा बस्दा एक हदसम्म नाम कमाए। सानो पोखरामा उनी चर्चित नै थिए। पछि एसएसपी भएर पश्चिम क्षेत्रीय कार्यालयमा बस्दा भने उनी पुलिसको माथिल्लो लाइनका सम्भावित उम्मेदवार बनिसकेका थिए। आरोह–अवरोहका बीच उनी आइजी बने।

पुलिसमा राजनीति पसिसकेको थियो। पोखरामा भिआइपीहरुको बाक्लो आउजाउ तथा यहाँ मिल्ने अतिरिक्त लाभले पोखरा प्रहरीको रोजाईमा पर्न थाल्यो। पर्यटकीय नगरी,उचित हावापानी र यहाँ हुने सार्वजनिक गतिबिधीले यो सहर सबैको चासोमा पर्नु अस्वभाविक पनि थिएन। समयक्रमका केही योग्य, औषत तथा कार्यसम्पादनमा कमजोर दरिएर यहाँबाट बिदाई भए। जिल्ला प्रहरी कार्यालयमा हालसम्म ६८ जना हाकिम आएको रेकर्ड झुड्याइएको छ।

पोखरामा औषत पुलिस हाकिमको बसाई १० महिनादेखि १५ महिना हुनेगर्छ। केही वर्षअघि त्यही छोटो बसाईमा एसपीको रुपमा रमेश खरेलको हातमा प्रहरीको कमाण्ड गयो। पोखरामा गुण्डागर्दी मौलाएको बेला थियो। उनले गुण्डागर्दीका पुराना फाइल पल्टाए। गुण्डा आरोपितहरुलाई छानिछानी समाते र वाहवाही बटुले।

त्यो बेला उनको क्रेज यति बढ्यो कि फिल्म हलमा रोमाण्टिक सिन आउँदा केटाहरु कराउँथे,‘ओइ, त्यसो नगर रमेश खरेल आउला!’

‘हो रमेश खरेल साब आएपछि यहाँ आउने सबै हाकिमहरुमा राम्रो काम गर्ने दवाब पर्‍यो’, जिल्ला प्रहरी कार्यालयमा त्यो बेला जुनियर अधिकृत रहेका एक प्रहरीले भने,‘त्यसपछि यहाँ आउनेहरुले अपेक्षाकृत राम्रो गरेको देखाए।’

स्रोतका अनुसार त्यसपछि पुलिस कमाण्ड समाल्नेहरु केही आन्तरिक काममा चुस्त थिए भने केही सामाजिक छवि राम्रो बनाउन शक्तिकेन्द्र धाउन माहिर। जे होस्, यहाँ आए लगत्तै सबैले गुण्डागर्दी बिरुद्ध शून्य सहनशीलता, जागूऔषधबिरुद्धको अभियानजस्ता घोषणा गर्दै गए।

आउँदा र जाँदा खादा र माला लगाउन सधैँ तयार हुने यहाँका केही सामाजिक (?) संस्थाहरुसँग उनीहरु नजिकिए। केहीले ठूला माछातिर मात्रै आँखा लगाए भने केहीले प्रहरीको दैनिक गस्तीबाट पनि अतिरिक्त लाभ आर्जन गरे।

प्रहरीमा सरुवाको लागि सिपाहीदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मले माग फारम भर्नुपर्छ। माग फारम जाँचबुझ्पछि सरुवा सम्बन्धी निर्णय लिइन्छ। प्रहरी नियमावली अनुसार, सिपाहीदेखि प्रहरी नायब निरीक्षक (सई) सम्मको सरुवा क्षेत्रीय प्रहरी कार्यालयले गर्छ भने इन्स्पेक्टरदेखि प्रहरी उपरीक्षक (एसपी) सम्मलाई प्रहरी प्रधान कार्यालयले सरुवा गर्छ। एसएसपीभन्दा माथिल्लो दर्जाको सरुवा गृहमन्त्रालय र मन्त्रिपरिषद्को जिम्मा हो।

त्यसपछि यहाँ आएकाहरु कहीँ न कहीँ कार्यसम्पादनमा अब्बल मात्रै नभएर शक्तिकेन्द्रसँग नजिक हुनेहरु पनि देखिए। शक्तिकेन्द्र रिझाएर आउँदा केहीको पुरानो दाग बेला न कुबेला बर्सने पोखराको पानीले धोइदियो भने केही अझै उच्च आंकाक्षा पालेर यहाँबाट बिदा भए। समग्रमा रमेश खरेलपछि पोखरा आउनेहरुलाई पोखरा फाप्यो नै।

रमेशपछिको १० औँ नम्बरमा कास्की कमाण्डको जिम्मा अहिले एसपी दानबहादुर कार्कीको हातमा छ। सुन काण्डमा मुछिएर पनि उन्मुक्ति पाएका एसपी ओम राना मगरलाई बिस्थापित गरेका उनी शक्तिकेन्द्रसँग नजिक भएका प्रहरी अफिसर मानिन्छन्। वर्तमान आइजीसँग हेडक्वार्टर बसेका यी गुल्मेलीले पोखरा आउनााथ आफ्नो क्रियाशिलता देखाउन थालेका छन्।

उनी यहाँ आउनासाथ कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट विप्लव नेतृत्वको माओवादीका १८ जना कार्यकर्ता पक्राउ परे। बन्दी प्रत्यक्षिकरणको रिटमा अदालतको आदेशले बिहीबार रिहा हुँदा भएका ती कार्यकर्ता पुन: पक्राउ परे। विप्लव नेतृत्वको माओवादीप्रति सिंगो राज्यले अंगिकार गरेको नीति र आदेशमा कार्कीले यो कदम चाले होलान्। तर, मानवअधिकारवादीहरु भने उनको कदमबाट भस्किन पुगे।

अहिले सामािजक सञ्जालमा अदातल परिषदरभित्रैबाट भएको पक्राउको बिरोध भएको छ। एसपी कार्कीप्रति देखिएको यो असन्तुष्टीमा २०७२ साउनदेखि भएको मधेश आन्दोलनको क्रममा अत्यधिक बल प्रयोग गरेको उनको इतिहास पनि जोडिन पुग्यो। यसैगरी उनी यहाँ आउनासाथ लागूऔषध बिक्रेताको रुपमा आरोपित गोविन्द थापामाथि गोली चलाइयो। गोविन्द लागूऔषध दुव्र्यसनी पक्कै हुन्। दुव्र्यसनमा परेकाले बेच्नु नौलो कुरा पनि हैन।

तर, पारिवारिक स्रोतकै दावीलाई इन्कार गर्ने अवस्था पनि त छैन। ‘लागूऔषध दुव्र्यसनी भनेको आधा मरेकै मान्छे हो, त्यस्ताले के प्रहरीमाथि तयारीका साथ आक्रमण गर्‍यो भन्ने पत्याउने कुरा हैन’, एक पूर्वलागूऔषध दुव्र्यसनीले भने,‘ प्रहरीले त्यो घटनामा पनि बढी बल प्रयोग गर्‍यो।’ लागूऔषधबिरुद्धको एसपीको क्रियाशिलताको चाहिँ ती पूर्वदुव्र्यसनीले पनि सह्राना गरे।

हो, राज्यले प्रहरीलाई लाठी टेक्न मात्रै र हतियार सजाउन मात्र दिएको हैन। तर, त्यसको प्रयोगका केही निश्चित सीमा र मान्यता छन्। अत्यधिक बल प्रयोग न्यायोचित हैन। प्रहरी हाकिमको लागि पोखरा आउनु नियमित सरुवाको प्रक्रिया मात्रै हैन, केही गरेर देखाउने अवसर पनि हो।

आन्तरिक रुपमा आफ्नो संगठनका सिपाहीको मनोवल बढाउनु, उनीहरुलाई नैतिवान बनाउनु तथा त्यही फोर्स परिचालन गर्दै आफूलाई अब्बल सावित गर्नुलाई प्रहरीमा कुशल संगठक मानिन्छ। पोखरामा आउने भिआइपीको वरिपरी देखिनु, उनीहरुका ‘डिमाण्ड’ पूरा गर्नु वा अनावश्यक स्टण्डबाजीले कार्यकुशलता थपिएको मानिँदैन। प्रहरीको जिम्मेवार नेतृत्वले यो कुरा मनन गर्नैपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .