समाज


विद्यालयबाट घर हिँडेका प्रधानाध्यापक बाटैमा बेपत्ता, खोला किनारमा रगतको दागसँगै कपडा र मोवाइल भेटियो

विद्यालयबाट घर हिँडेका प्रधानाध्यापक बाटैमा बेपत्ता, खोला किनारमा रगतको दागसँगै कपडा र मोवाइल भेटियो

नेपालखबर
असार ९, २०७८ बुधबार ४:२३,

म्याग्दीका एक शिक्षक रहस्यमय ढंगले बेपत्ता भएका छन्। बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्की गएको आइतबारदेखि बेपत्ता भएका हुन्।

विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका शिक्षक कार्कीको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग देखिएको स्थानीयले बताएका छन्। कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल पनि खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई भेटेर शिक्षक कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराएका हुन्। बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक सङ्घसंस्थामासमेत आवद्ध थिए।

कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ। विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन।

आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले घटना अनुसन्धानकै क्रममा रहेकाले शिक्षक कार्कीको हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताए।

‘घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ’, उनले भने, ‘बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौँ।’ बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ।

कपडा भेटिएको ठाउँ नजिकै स्काभेटरले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्कएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad