अविरल वर्षाका कारण पहिरो जाँदा कालीकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ।
पहिरोमा परी केही घाइते भएको प्रहरीले जनाएको छ।
सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङ्जा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ।
कालिकोट, खाडाचक्र नगरपालिका ६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका ६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ।
डोटी, सिलगढी नगरपालिका(५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका ७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन्।
सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो।
सल्यान, कालिमाटी गाउँपालिका ४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका १६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन्।
उक्त स्थानमा रुख सहित खसेको पहिरोमा खड्का च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्धार गरी उपचारका लागि नेपालगन्जतर्फ पठाएको छ।
साथै उक्त पहिरोले कालिमाटी बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ।
दैलेख, आठबिस नगरपालिका ५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीबार दिउँसो ढुंगा सहित पहिरो खस्दा सडक अवरोध भएको छ।
यसैगरी दैलेख, आठबिस नगरपालिका(१ रामाघाटस्थित कर्णाली नदीको वहाव बिहीबार राति बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
हुम्ला, सिमकोट गाउँपालिका १ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ।
साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी हुम्ला, नाम्खा गाउँपालिका १ स्थित ताग्रुखोलामा बिहीबार दिउँसो आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट–हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ।
सुर्खेत, गुर्भाकोट नगरपालिका १ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत दाङ सडक खण्ड अवरोध भएको छ।
साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका १ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
पाल्पा, रैनादेवी छहरा गाउँपालिका २ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ। क्षतिको विवरण खुल्न सकेको छैन।
गोरखा, धार्चे गाउँपालिका १ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीबार राति आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रासहित खोर बगाएको छ।
प्रहरीले दुवै घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेको छ।
तनहुँ, भानु नगरपालिका ११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण बिहीबार दिउँसो भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
स्याङजा, गल्याङ नगरपालिका ८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको थियो। अहिले सडक एकतर्फी सुचारू गरेको छ।

प्रतिक्रिया