समाज


‘असार पहिलो हप्ता विद्यार्थीको हात-हातमा पाठ्यपुस्तक पुग्छ’

‘असार पहिलो हप्ता विद्यार्थीको हात-हातमा पाठ्यपुस्तक पुग्छ’

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ९:१०,

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ।

शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए।

झाले पाठ्यपुस्तक छपाईको काम सम्पन्न भइसकेको जानकारी दिएका हुन्। प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सूचीकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पुर्याउने उनले बताए।

देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण बिक्री वितरणमा भने समस्या भएको प्रमुख झाले बताए। यद्यपी असारको पहिलो सातासम्ममा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने उनले बताए।

उनले भने, ‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन। पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ। १ हप्तादेखि बिक्री वितरण भइरहेको छ। जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पुर्‍याइसक्छौँ। असारको पहिलोहप्ता सम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ।’

यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरुमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ।

केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकहरुपनि छापिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad