ad ad

समाज


बौद्धमा भेटिएको नली खुट्टोको डीएनए जाँचिने, हराएका व्यक्तिको ‘लिस्ट’ खोज्दै प्रहरी

बौद्धमा भेटिएको नली खुट्टोको डीएनए जाँचिने, हराएका व्यक्तिको ‘लिस्ट’ खोज्दै प्रहरी

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १०:५१,

मंगलबार बिहान ६ः४५ बजे प्रहरीको १०० नम्बरमा फोन आयो।

‘यहाँ बोरामा मान्छेको शव फालेछन्, आउनुपर्‍यो’, बौद्धका सुन्दर खड्काले प्रहरीलाई फोन गर्दै भने।

यति हुँदासम्म घटनास्थलमा तीन/चार जना महिलाहरु जम्मा भइसकेका थिए।

शव भेटेको छेवैको घरकी महिलाले दुबो टिप्न जाँदा बोराको बाहिर खुट्टाको केही भाग देखिन्। त्यसपछि उनले अरुलाई भनिन्।

अरु पनि जम्मा हुँदै गए। टोलमा होहल्ला भयो।

कसैले यो शव होइन, प्लास्टिकको डमी हो भनिरहेका थिए। सुन्दर पनि घरअगाडि रहेको खाली जग्गामा रहेको बोरा छेउमै पुगेर हेरे।

कसैलाई पनि नछुन र अलि परै बस्न सुझाएर सुन्दरले बल्ल प्रहरीको हटलाइनमा फोन गरेका थिए।

खबर पाएलगत्तै बौद्ध वृत्तबाट डीएसपी नवीन कार्कीको टोली घटनास्थलतर्फ ‘मुभ’ भयो। छेउका अरु प्रभाग र वृत्तबाट थप टोली घटनास्थल पुग्यो।

काठमाडौं प्रहरीपरिसरका प्रमुख एसएसपी अशोक सिंह र महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङको टोली पनि घटनास्थलमा पुग्यो।

त्यसपछि घटनास्थल सुरक्षित पारियो। तालिमप्राप्त कुकुर परिचालन गरियो।

तर केही हप्ता पहिलेकै घटना भएकाले प्रहरीले पत्ता लगाउन सकेन। चिकित्सकको टोली पनि त्यहाँ पुगे। त्यसपछि बोरा खोलियो।

नली खुट्टोको भाग मात्रै बोरामा थियो। बोराभित्रै केही जलेका परालका त्यान्द्रा पनि थिए।

नली खुट्टो त्यही पनि डढेको अवस्थामा फेला परेको हो। शव कसको भन्ने पहिचान हुन निकै कठिन छ।

प्रहरीले अहिले दुवै पाटोमा अनुसन्धान सुरु गरेको अपराध महाशाखा प्रमुख खापुङले बताए।

‘शवको पहिचान गर्नुपर्ने चुनौती त छँदै छ, हत्या र हत्याराबारे पनि अनुसन्धान सुरु भएको छ’, एसएसपी खापुङले भने, ‘तर यसका धेरै रहस्य छन्।’

प्रहरीले अहिले भेटिएको खुट्टोको आधारमा केही अनुमान मात्रै गरेको छ। यो शव बालबालिकाको नभएको र हत्या दुई÷तीन हप्तापहिले नै भएको अनुमान प्रहरीको छ।

एसएसपी खापुङले घटनास्थलको अध्ययनपछि भने, ‘यो अन्तै हत्या गरेपछि शव व्यवस्थापन गर्नेक्रममा यो भागचाहिँ जल्न बाँकी रहेकाले फालेको हुनुपर्छ।’

प्रहरीले उक्त शव कसको भनेर पत्ता लगाउनका लागि हराएका व्यक्तिहरुको पहिचान गर्न सुरु गरेको छ।

‘अहिले सुरुमा देशैभर हराएकाहरुको अध्ययन गर्दै छौँ, सबैको डाटा एनलाइसिस गर्छौँ। घटनामा फेला परेको खुट्टाको डीएनए प्रोफाइलिङ पनि हुन्छ। नली खुट्टाबाट उमेरको पहिचान हुन सक्छ’, उनले भने, ‘अन्दाजी उमेर आइसकेपछि त्यहीअनुसारका व्यक्तिलाई केन्द्रित गरेर अनुसन्धान गर्छौँ।’

लिंगको पहिचान हुन्छ कि भनेर त्यता पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले हराएका व्यक्तिका आफन्तलाई सम्पर्क गर्न थालेको छ।

सुरुमा प्रहरी शवको पहिचानमा लागेको छ। शव र हत्या गरिएको स्थान पत्ता लागे अपराधीसम्म पुग्न सहज हुनेछ।

नली खुट्टाको डीएनए रिपोर्ट आएपछि प्रहरीले हराएका व्यक्तिका आफन्तको पनि डीएनए परीक्षण गर्नेछ। डीएनए मिले मात्रै शव कसको भन्ने पहिचान हुने एसएसपी खापुङले बताए।

अहिले प्रहरीले सम्भावित घटनास्थलको अनुमान गरेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .