स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ।
विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए।
विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए।
‘प्रत्येक स्थानीय तहमा र्यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ', उनले भने, 'मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढि देखिन्छन्। उपचारात्मक सेवा र प्रर्वद्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ। स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्यापिड रेन्पोन्स टीम), उहाँहरुले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ।’
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए।
‘डेंगु लगायतका विमारहरुलाई चाहिने एन्टिजेन किट, परीक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधिको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ।’
उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि र्यापिड रेस्पोन्स टिम बनाइसकेको बताए।

प्रतिक्रिया