समाज


कोरोना संक्रमणले पुरुषको यौन-जीवन प्रभावित, नपुंसकता बढ्दो: नयाँ अध्ययन

कोरोना संक्रमणले पुरुषको यौन-जीवन प्रभावित, नपुंसकता बढ्दो: नयाँ अध्ययन

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १३:१७,

कोरोना भाइरसको महामारीसँगै यसका लक्षण र असरबारे नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन्। हालै गरिएको नयाँ अनुसन्धानबाट कोरोना संक्रमणले पुरुषको यौन जीवनमा समेत असर पुर्‍याइरहेको पत्ता लागेको छ।

अध्ययनका अनुसार कोरोना संक्रमणका कारण पुरुषमा इरेक्टाइल डिसफङ्क्सन अर्थात् नपुंसकता देखापर्न थालेको हो। यस विषयमा भारतीय अनलाइन दैनिक भास्करले भारतका विशेषज्ञसँग बुझ्ने प्रयास गरेको छ।

जुन कुरा हाम्रा लागि पनि उत्तिकै सन्देशमूलक हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो।

इरेक्टाइल डिसफङ्क्सन भनेको के हो?
मेन्स हेल्थमा प्रकाशित अध्ययनअनुसार युनिभर्सिटी अफ क्यालिफोर्नियाका युरोलजिस्ट डा. हावर्ड औबर्टका अनुसार यसलाई बुझ्न पहिले इरेक्सन प्रक्रिया जान्न जरुरी हुन्छ। वास्तवमा पेनिस (लिंग) तीन सिलिन्डरबाट बनेको हुन्छ। माथि दुई सिलिन्डर स्पन्जजस्तो फैलिने टिस्युले भरिएको हुन्छ। यस्तै तल्लो सिलिन्डिर ब्लाडरले पिसाब पास गर्छ। मानिस उत्तेजित स्नायुजन्य प्रतिक्रिया र त्यसका कारण सुरु हुने गतविधिबाट हुन्छ। यस क्रममा रगत स्पन्जी टिस्युमा आउँछ र फैलिन्छ। सिस्टम यस्तो हुन्छ कि रगत यहाँ आएर रोकिन्छ। तब मानिसलाई इरेक्सन महसुस हुन्छ। यसका लागि स्नायुबाट पर्याप्त मात्रामा नाइट्रिक अक्साइड निस्किन आवश्यक हुन्छ। नसा यति खुल्न जरुरी हुन्छ कि त्यसबाट तीव्र गतिमा रगत बाहिरिन पाओस्। जब कुनै कारण लिंगसम्म रगत आउन सक्दैन, तब त्यहाँ इरेक्सन हुन पाउँदैन। यसैलाई इरेक्टाइल डिसफङ्क्सन भनिन्छ।

इरेक्टाइल डिसफङ्क्सन किन हुन्छ?
विशेषज्ञका अनुसार इरेक्टाइल डिसफङ्क्सन हुनाका कैयौं कारणमध्ये तनाव, डिप्रेसन र प्रस्तुतिसम्बन्धी तनाव पनि हुन्। यदि रक्त प्रवाहमा कुनै समस्या आयो भने यसको असर निर्माण कार्यमा पर्छ। स्नायु प्रणालीमा कुनै गडबडी वा हर्माेन सेन्सिटिभिटी पनि यसको कारण हुन सक्छ। सामान्यतया इरेक्टाइल फङ्क्सनको सीधा सम्बन्ध रक्त प्रवाहसँग हुन्छ र यसका कारण इरेक्टाइल फङ्क्सनमा कुनै गडबडी मुटु रोगको संकेत पनि हुन सक्छ। कोरोनाका कारण पूरै शरीरमा अक्सिजन प्रसारमा बाधा पुग्छ र रक्त प्रवाहमा सीधा असर पुग्छ। लिंगमा रगत पठाउने धमनी (आर्टरी) बन्द वा साँघुरो हुन सक्छ। यस्तो भयो भने लिंगमा रक्त प्रवाह हुँदैन र डिसफङ्क्सन हुन सक्छ।

नयाँदिल्लीस्थित डायोज मेन्स हेल्थ सेन्टरका क्लिनिकल डाइरेक्टर विनित मल्होत्रा भन्छन्, ‘कोरोना संक्रमणले शारीरिक, मानसिक स्वास्थ्यसहित मानिसको सम्पूर्ण स्वास्थ्यमा ठूलो असर पार्छ। यौन कार्य र प्रजनन क्षमतामा पनि भाइरसले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्छ। व्यायामको कमी, अधिक भोजन र अत्यधिक अल्कोहल (रक्सी) ले पनि हानि पुर्याइरहेको छ।’

कोरोना संक्रमणले पुरुषको यौन-जीवनमा पार्ने असरबारे अध्ययनले के भन्छ?
यही सन् २०२१ को मार्च महिनामा जर्नल एन्ड्रोलजीमा ‘मास्क अप टु किप इट अप’ शीर्षकमा प्रकाशित अध्ययन प्रतिवेदनमा कोरोना र इरेक्टाइल डिसफङ्क्सनको सम्बन्धबारे उल्लेख छ। इटलीका पुरुषमा गरिएको अध्ययनका अनुसार कोरोना संक्रमणका कारण कार्डिओभास्कुलर प्रणालीमा क्षति पुर्याउँछ, जसले पुरुषमा इरेक्सनमा असर पार्छ।

वर्ल्ड जर्नल अफ मेन्स हेल्थमा प्रकाशित एक अध्ययनमा के दाबी गरिएको छ भने संक्रमण भएको धेरै महिनापछि पनि लिंगमा संक्रमण पाइएको छ। अध्ययनको दाबी छ– कोभिड–१९ का कारण शरीरका धेरै कोषिकाको काम गर्ने तरिकामा असर पर्छ, जुन इरेक्टाइल डिसफङ्क्सनको कारण बन्न सक्छ।

यस अध्ययनको नतिजाको पुष्टि गर्दै दिल्लीस्थित सेन्टर फर रिकन्स्ट्रक्टिभ युरोलजी एन्ड एन्ड्रोलजीका डा. गौतम बंगा भन्छन्, ‘कोभिड–१९ ले दुई किसिमले पुरुषको स्वास्थ्यमा असर पारिरहेको छ– पहिलो, यौन स्वास्थ्य र दोस्रो, मानसिक स्वास्थ्य। महामारीले मानिसलाई सामाजिक साथसाथै आर्थिक रूपमा समेत ठूलो प्रभाव पारेको छ। जसले तनाव, डिप्रेसन र एन्ग्जाइटी भइरहेको छ। यसको असर पुरुषको समग्र स्वास्थ्य, इरेक्टाइल डिसफङ्क्सन र प्रजनन प्रणालीमा देखिएको छ।’

यो असर सधैंका लागि हो कि ठीक हुन्छ?
कोरोना महामारी सुरु भएको डेढ वर्ष बितिसक्दा पनि यसले कहिलेसम्म र कतिसम्म हानि गरिरहन्छ भन्ने कुरा अहिलेसम्म अनुसन्धानकर्ताले अनुमान गर्न सकेका छैनन्। रगत जम्ने समस्याका साथै, स्नायुसम्बन्धी समस्या, फोक्सो, मिर्गाैलामा क्षतिजस्ता असरहरू देखिइसकेका छन्। धेरै महिनासम्म यस्ता असर देखिइरहेका छन्।

विशेषज्ञका अनुसार कोरोना संक्रमणले गर्ने असर कुनै स्थायी किसिमका छन् भने कुनै अस्थायी। इरेक्टाइल डिसफङ्क्सन दीर्घकालीन समस्या हो वा होइन, यसबारे थप अध्ययन गर्न आवश्यक छ। यस्तै कोरोना संक्रमणले प्रजनन क्षमतामा असर पार्छ नै भनेर ठोकुवा पनि गर्न सकिन्न। बढी उमेरका मानिसलाई इरेक्टाइल डिसफङ्क्सन र कोरोना संक्रमणको जटिलता दुवैको खतरा हुन्छ।

गुडगाउँस्थित ज्योति हस्पिटलका युरोलजिस्ट तथा एन्ड्रोलजिस्ट डा. रमन तम्वर भन्छन्, ‘अहिले पनि धेरै कम्पनीले घरबाटै काम सञ्चालन गरिरहेका छन्, जसको प्रभाव धेरै समय काम भइरहेको छ। जुन तनाव, एन्ग्जाइटी, डिप्रेसनको कारण बनिरहेको छ। यसले हृदयाघात तथा प्रजनन प्रणालीसँग सम्बन्धित समस्या देखापरिरहेका छन्। समयसँगै यसमा सुधार आउन सक्छ।’

भारतमा पनि इरेक्टाइल डिसफङ्क्सन देखिएको छ?
हो। चिकित्ससामु यस्ता समस्या लिएर आउने बिरामी पनि देखिन थालेका छन्। डा. रमन तम्वरका अनुसार यस्ता समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ। विश्वका विभिन्न स्थानमा भएको अध्ययनले पुष्टि गरेको छ– कोरोना संक्रमण र इरेक्टाइल डिसफङ्क्सनबीच गहिरो सम्बन्ध छ।

खोप लगाउन थालेपछि पो यस्तो समस्या देखिन थालेको हो कि?
होइन। यस्तो त अहिलेसम्म देखिएको छैन। डा. मल्होत्रा भन्छन्, ‘कोरोनाविरुद्धको खोपको दुष्प्रभाव हुन्छ भन्ने गलत हल्लाले मानिसमा चिन्ता बढाइरहेको छ। यही अफवाहका कारण पुरुषहरू सकेसम्म खोप लगाउनबाट भागिरहेका छन्। उनीहरूले के बुझ्न जरुरी छ भने खोपले कोरोना संक्रमणबाट हुने गम्भीर खतरा कम गर्छ। खोपले फाइदा मात्रै गर्छ, कुनै हानि गर्दैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad