सिन्धुलीको कमलामाई नगरपालिका निवासी एक सय वर्षीया एक महिला कोरोना संक्रमण मुक्त भएकी छन्। कमलामाई नगरपालिका ६ की सय वर्षीया इन्दिराकुमारी थापाले कोरोनालाई जितेकी हुन्।
जिल्ला अस्पतालमा पाँच दिनको उपचारपछि उनी संक्रमण मुक्त भएकी अस्पतालका प्रवक्तासमेत रहेका डा.सागर देवकोटाले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि थापालाई आफन्तले अस्पताल भर्ना गरेका थिए। थापा बुधबार स्वस्थ भएर घर फर्किएकी हुन्। सय वर्षीया हजुरआमाले कोरोनालाई जितेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।
ज्वरोसँगै रुघाखोकी देखिएपछि जिल्ला अस्पतालमा लगेर परीक्षण गर्दा आमालाई संक्रमण पुष्टि भएको छोरी निर्मलाले बताइन्। ‘आत्मबल र समयमै उपचार पाउँदा आमा निको हुनुभयो,’ खुसी हुँदै निर्मलाले भनिन्।
अस्पताल पुर्याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कमी देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो।
प्रतिक्रिया