ad ad

समाज


एउटै गाउँमा कोरोनासँग मिल्दो लक्षण भएका १३ को मृत्यु, परीक्षण भने गरिएन

एउटै गाउँमा कोरोनासँग मिल्दो लक्षण भएका १३ को मृत्यु, परीक्षण भने गरिएन

शैलेन्द्र महतो
जेठ १२, २०७८ बुधबार ८:३७,

महोत्तरीको भंगहा नगरपालिका- ४ रामनगरविर्ता प्रेमनगर टोलकी ५० वर्षीया आशा देवी महतोलाई वैशाख अन्तिम साता समान्य रुघाखोकी लाग्यो । गाउँकै स्वास्थ्य चौकीमा औषधि उपचार गराइन्।

दुई दिनपछि श्वासप्रश्वासमा समस्या देखिन थालेपछि परिवारजनले जेठ १ गते थप उपचारको लागि जनकपुरको सिटी अस्पतालमा भर्ना गरे। कोरोना परीक्षणको लागि त्यहीँबाट स्वाब संकलन गरियो। रिपोर्ट आएकै थिएन, भोलिपल्ट बिहान अस्पतालले भन्टिलेटरमा राख्नु पर्ने भन्यो । छोरा विजय महतोका अनुसार आमालाई प्रादेशिक अस्पतालको भेन्टिलेटरमा लैजाने क्रममा बाटैमा मृत्यु भयो।

कोरोनाको लक्षण रहेकाले परिवारजनले शव सुरक्षित साथ घर ल्याएर सावधानी पूर्वक जेसिभीबाट खाल्डो खनी व्यवस्थपन गरे । मृत्युको भोलि पल्ट आशादेवीको रिपोर्ट पोजेटिभ आयो। परिवारजन झन् सशंकित भए।

त्यसपछि परिवारका सबै सदस्यको सपरीक्षण गरियो। मृतकका छोरा विजय तथा ११ र १४ वर्षका दुई नातिको रिपोर्ट पनि पोजेभि आयो। आशादेवीको मृत्यु यता विर्ता टोलमा मात्रै ४७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय महोत्तरीकी कोभिड फोकल पर्सन प्रतिभा सिंहले बताइन्।

विर्ता टोलकै दाजुभाई राजकुमार महतो र रामकुमार महतोको एकसाता अघि दुईदिनको अन्तरालमा मृत्यु भयो। ६२ वर्षीय राजकुमारको दुई दिनअघि र ५८ वर्षीिय रामकुमारको दुईदिन पछि कोरोनासँग मिल्दोजुल्दो लक्षणको करण मृत्यु भयो। तर, उनीहरुको कोरोना परीक्षण गरिएन।

वडा नम्बर ४ का अध्यक्ष अशोक महतोका अनुसार दुबैदाजु भाई डाईभिटिजका दीर्घ रोगी थिए । मिल्दोजुल्दो क्षणका कारण उनीहरुको मृत्यु भए पनि कोरोना परीक्षण भने नगरिएको उनको भनाई छ। स्थानीयले भने केही समययता आशादेवी, रामकुमारसहित गाउँका १३ जनाको कोरोनाको कारण मृत्यु भएको दाबी गरेका छन्।

तर कोभिड फोकलपर्सन सिंहले मृत्यु अघि वा पछि पनि सबै मृतकको कारोना परीक्षण नभएको हुँदा सबैको मृत्यु कोरोनाकै कारण भएको हो भन्न नसकिने दाबी गरिन्। वडाध्यक्ष अशोक महतोले भने १३ जनाको मृत्यु तीन महिना भित्रमा भएको र सबै ५० वर्षभन्दा माथिका दीर्घरोगी रहेको बताए। ‘मृतकहरुको विषयमा अफवाह फैलाइएको छ । तीन महिनाको अन्तरालमा १३ जनाको मृत्यु भएको हो, कतिपयले दुई साताको बीचमा उनीहरुको मृत्यु भएको भनिरहेका छन्, त्यो होइन,’ नेपालखबरसँग उनले भने, ‘मृतकमध्ये एक जनाको मात्र कोरोना परीक्षण गरिएको चाहीँ साँचो हो। मृतकहरु सबै उमेरले ५० वर्ष कटेका र प्रायः वृद्धवृद्धा र दीर्घरोगीहरु थिए।’

उनले मृतकमध्ये एक जनाको मात्रै कोरोना पुष्टि भए पनि गाउँमा कोरोना फैलिएको भने स्वीकार गरे। जेठ ९ गते लक्षण भएका ५० जनाको स्वाब संकलन गर्दा २८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। दोश्रो चरणमा पुनः ६९ जनाको स्वाब संकलन गरिएको छ। त्यसको रिपोर्ट आउँन बाँकी रहेको वडाध्यक्ष महतोले बताए।

गाउँमा कोरोना संक्रण फैलिएपछि स्थानीय मात्रै नभएर त्यस आसपासका अन्य गाउँमासमेत त्रास बढेको छ। स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन सिंहका अनुसार कोरोनाको दोश्रो लहर सुरु भएयता भंगहा नगरपालिकामा मात्रै १०१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस मध्ये रामनगर बिर्ताकै ४७ जना छन्।

कोरोना नियन्त्रणका लागि स्वाब संकलन, सावधानीका लागि गाउँ गाउँमा माइकिङ, हाटबजारमा कडाई गरिएको भंगहा नगरपालिकाका प्रमुख संजिव साहले बताए । उनले कोरोना संक्रमण मान्छेको आफ्नै लापरबाहीले फैलिने हुँदा सावधानी र सतर्कता अपनाउन आग्रह गरे।

कोरोना संक्रमण फैलिएपछि गाउँ सिल
रामनगर विर्तामा कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले गाउँ नै सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले १० दिनका लागि गाउँ सिल गरेको हो। आवश्यक्ता अनुसार निषेधाज्ञालाई पुनः थप गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।

पूर्व र दक्षिणमा भुतहा खोला, पश्चिममा रातुखोला र उत्तरमा बर्दिबास नगरपालिकाको सीमा क्षेत्रसम्मको एरिया सिल गरिएको छ। गाउँबाट बाहिर जान र आउँन रोक लगाइएको छ।

महोत्तरीमा दुई हजार संक्रमित, ६२ जनाको मृत्यु
कोरोना संक्रमणको दोस्रोलहर सुरु भएयता महोत्तरी जिल्लामा करिब दुई हजार जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा ६२ जनाको संक्रमणको कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। अचेल जिल्लामा दैनिक करिब सयजनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्।

चैत ३० गते यता १ हजार ९२५ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीकी कोभिड फोकलपर्सन प्रतिभा सिंहले बताइन् । उनका अनुसार यस अवधिमा ६२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। तर, स्थानीयबासीले भने कतिपय मृतकको परीक्षण नै नभएकाले उनीहरुको मृत्यु पनि कोरोनाकै कारण भएको दाबी गर्दै आएका छन्।

पूर्वमन्त्री पोखरेल भन्छन्- संयन्त्र बनाएर कोरोना नियन्त्रणमा लागौँ

महोत्तरीमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएकोप्रति पूर्वमन्त्री गिरिराजमणि पोखरेलले चिन्ता व्यक्त गरेका छन्। महोत्तरी १ बाट निर्वाचित सांसदसमेत रहेका पोखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी महोत्तरीमा समुदायस्तरमै कोरोना महामारी फैलिएको बताएका हुन्।

भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएको, हाटबजार बन्द नभएको, बिहेबारी भोजभतेरमा नियन्त्रण नभएको, स्वास्थ्य मापदण्डको पालना नभएकोले कोरोना संक्रमण फैलिँदै गएको उनको भनाई छ।

‘संक्रमणले विकराल अवस्था आउन नदिद सरकार, राजनैतिक दल, नागरिक समाज, वुद्धिजिवी, व्यापारी, पत्रकार, युवा सबै मिलेर सर्वपक्षीय र सर्वदलीय संयन्त्र बनाएर काम गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोना अति प्रभावित क्षेत्रहरुलाइई भंगहा नगरपालिमा जस्तै सिल गर्नुपर्छ। पीसीआर टेस्टको दायरा बढाउनु पर्छ, निषेधाज्ञामा कडाई गर्नुपर्छ।’
हेर्नुस् विज्ञप्ति

186551636 829748001296107 2279614654794955641 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .